काठमाण्डौ । सेयर बजारका केही अगुवा लगानीकर्ताहरुले विभिन्न सामाजिक सञ्जाल प्रयोग गरेर बजार प्रभावित गरेको भन्दै धितोपत्र बोर्डमा उजुरी दिएका छन् । उजुरी कर्तामध्येका एक सदस्यले दिएको जानकारी अनुसार सेयर बजारका चर्चित लगानीकर्तासहित १५ जनाविरुद्ध धितोपत्र बोर्डमा उजुरी परेको हो ।
हाल मौखिक रुपमा मात्रै उजुरी दिइएको छ । धितोपत्र बोर्डका ४ जना कार्यकारी निर्देशकलाई बजार सुधारका सुझाव समेत दिइएको ती सदस्यले जानकारी दिए । ‘हामीले ४ ईडीहरुलाई अघि राखेर मौखिक सुझाव दिएका छौं । उहाँहरुले हाम्रो उजुरी र सुझाव टिपेर राख्नु भएको छ । अब कार्यान्वयन के–कस्तो हुन्छ हेर्न बाँकी छ,’ उनले भने‘अहिलेलाई मौखिक सुझाव मात्रै दिएका छौं । फेरी पनि फेसबुक र क्लब हाउसबाट बजार प्रभावित गर्ने काम भयो भनेचाहीँ लिखित उजुरी दिनेछौं ।’
नाम चलेका लगानीकर्ताहरुबाटै कारोबार समयमा बजारको बिषयमा बोलि दिंदा बजार प्रभावित भएको र यसलाई नियन्त्रण गर्न धितोपत्र बोर्डमा हाल मौखिक रुपमा उजुरी दिइएको उनले बताए । सेयर बजारकै अगुवा लगानीकर्ता तिलक कोइरलाले आफू विरुद्ध कसैले उजूरी हालेको र धितोपत्र बोर्डबाट फोन आएको पुष्टि गरे । उनले भने,‘मेराविरुद्ध पनि बोर्डमा उजुरी दिएका रहेछन् । धितोपत्र बोर्डले बोर्डमा आउन भनेको थियो तर यतिबेला म पूर्वी नेपालमा रहेकाले बोर्डमा उपस्थित हुन सकेको छैन ।’
काठमाण्डौ फिर्ता भएपछि भने बोर्डमा उपस्थित भई आफूविरुद्धको उजुरीको सामना गर्ने कोइरालाले बताए । उजुरीकर्तामध्येका अर्को एक सदस्यले सामाजिक सञ्जालमा पूँजी बजारलाई प्रभावित पार्ने गरी जाथाभावी बोल्ने र लेख्नेलाई धितोपत्र बोर्डले सचेत गराउनु पर्ने बताए । ‘यदि कसैले गडबढ गर्छ भने धितोपत्र बोर्डले कारवाही गर्नु पर्छ,‘ ती सदस्यले भने,‘यदि धितोपत्र बोर्डले केही नगरेमा अहिलेको कानून अनुसार प्रहरी प्रशासन जान पनि पछाडि हटिदैन ।’
कानूनका विज्ञ अमृत खरेलका अनुसार सामाजिक सञ्जालमा बजारलाई प्रभावित पार्ने गरी जथाभावी बोल्ने र लेख्नेहरुलाई धितोपत्र ऐन र विद्युतीय ऐन दुवै अनुसार कारवाही हुन सक्ने प्रावधान रहेको छ ।