काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर खरिदका लागि योग्य हुने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि माघ १५ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै कम्पनीले जारी गर्ने हकप्रदका लागि योग्य हुनेछन् ।
कम्पनीले चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।
हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपुँजीको लागि पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा लगानी गर्नेछ ।
बाँकी रहेको ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ भने हाल सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।