काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१९ प्रतिशत अर्थात ३.९७ अंकलेे घट्दै २०७९.०७ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४२ प्रतिशतले घटेर ३७०.०६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा कम्पनीको ८८ लाख २० हजार १२५ कित्ता सेयर ४ अर्ब ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
बजार जानकार अजय सिंह थापा(जय शम्भु)भन्छन्, ‘हिजो आजको बजार सामन्य अवस्थामा रहेको छ । आज को घटाई करेक्सनकै निरन्तरता हो । यस्तो करेक्सन अधिकतममा १९५० देखि १९३० विन्दुसम्म पनि आउँन सक्छ । प्राविधिक रुपमा अझै पनि करेक्नस नसकिएको जस्तो देखिन्छ । यद्यपी आधाभूत रुपमा भने सबै विषय मजबुत नै रहेको छ ।’
अर्का बजार जानकार दामोदर गजुरेल पनि बजार आफ्नै लयमा चलेको बताउँछन् । उनी भन्छन् ‘लगानीकर्ताहरु बजेट पछि अब मौद्रिक नीतिको प्रतिक्षामा छन् । आजको करेक्सनलाई सामान्य मान्न सकिन्छ । अहिले नै बजारमा धेरै उत्साहित र निराश हुनु पर्ने खासै केहि कारण छैन ।’
उनले बजार सेक्टर परिवर्तन हुँदै चलेको र अब बजार यसरी नै सेक्टर परिवर्तन हुँदै चल्ने बताए । ‘बजारमा अहिले नै असार मसान्तको प्रभाव देखिदैन त्यसको प्रभाव परे पनि असारको पहिलो तथा दोस्रो साताबाट पर्न सक्छ ।’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा समूहमा मात्रै हरियाली छायो भने अन्य १२ वटा समूहमा रातो पोतियो । आज लघुवित्त समूह मात्रै २.४३ प्रतिशतले बढ्यो ।
आज उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै गिरावट देखियो । यो समूह आज १.०५ प्रतिशतले घट्यो । आज बैंकिङ समूह ०.७४, विकास बैंक ०.३०,होटल ०.८४,हाईड्रो ०.१२,लगानी ०.१७,जीवन बीमा ०.२०,म्युचुअल फण्ड ०.२४,निर्जीवन बीमा ०.६६,अन्य ०.३७ र व्यापार समूह ०.०३ प्रतिशतले घट्यो । साथै वित्त समूह ०.०६ अंकले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १४ करोड ८५ लाख बढीको सेयर कारोबार भयो ।
त्यस्तै आज पोखरा फाइनान्सको १३ करोड ८६ लाख बढीको,ग्रिन भेन्चरको १२ करोड ४० लाख,नेपाल फाइनान्सको १० करोड ७ लाख र हिमालयन लघुवित्तको १० करोड ७ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज बुद्धभूमी नेपाल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.६६ प्रतिशतले बढ्यो । यो दिन हिमालयन लघुवित्तको सेयरमूल्य ६.९१ प्रतिशत,नेशनल लघुवित्तको ६.०५ र ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य ६.०४ प्रतिशतले बढ्यो ।
आज मनकामना इन्जिनियरिङको सेयरमूल्य सर्वाधिक अर्थात ५.९० प्रतिशतले घट्यो ।