काठमाण्डौ । नेपालमै एसेम्बल भएका हुण्डाई भेन्यूको मूल्य २०२४ मोडलका आयातित गाडीको तुलनामा ४ लाख रुपैयाँले घटेर आएको छ ।
नेपालका लागि हुण्डाई मोटर कम्पनीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुण्डाई भेन्यूको व्यवसायिक उत्पादन गरी बिक्रीवितरण सुरु गरिएको अवसरमा घोषित भेन्यूको मूल्य पहिलाको तुलनामा सामान्य घटेर आएको देखिएको हो ।
कम्पनीले दुईवटा मोडलको मूल्य सार्वजनिक गर्ने क्रममा कोरिया वा भारतमा बनेका २०२४ मोडलका आयातित गाडीको मूल्यभन्दा स्वदेशमै एसेम्बल भएको गाडीको मूल्य केही कम पर्न जाने देखिएको हो ।
स्वदेशमै एसेम्बल भएको हुण्डाई भेन्यू एफएल १.२ एस मोडलमा ११९७ सीसी इञ्जिन क्षमता भएको पेट्रोल गाडीको मूल्य ४४ लाख ९६ हजार तोकिएको छ । यस्तै, पेट्रोलमै भेन्यू एफएल १.२ एसएक्समा ११९७ सीसीको मूल्य ५३ लाख ५६ हजार तोकिएको छ ।
यसअघि २०२४ मोडलको भेन्यूको १.२ लिटर पेट्रोल गाडीको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ रहेको थियो भने एसएक्सको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ थियो ।
लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी गु्रपको लगानी तथा हुण्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुण्डाई भेन्यू मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुण्डाई मोटर कम्पनी कोरिया तथा इण्डियामा बन्ने सोही मोडलका गाडिहरु सरहकै हुने कम्पनीले दाबी गरेको छ ।
स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजश्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युतको खपत, कुल ग्राहस्थ उत्पादनमा योगदानका साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।
प्रथम चरणमा हुण्डाई भेन्यूका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्र नै थप अरु भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको र यसै आर्थिक वर्षभित्र हुण्डाई ग्राण्ड आई टेन का साथै क्रेटाको उत्पादन पनि सुरु हुने जनाएको छ।
*(यसअघि प्रकाशित समाचारमा भूलवश मूल्य सम्बन्धी सूचना केही फरक पर्न गएकोले त्यसलाई सच्याइएको छ ।)
-सम्पादक

                
                
                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                