काठमाण्डौ । नेपालका लागि अष्ट्रेलियाली राजदूत महामहिम् फेलिसिटी भोल्क र तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङद्वारा ‘आँखालाई माया गर्नुहोस्’ नामक बालबालिका लक्षित आँखा स्वास्थ्य प्रवर्धन गर्ने जनचेतनामुलक पुस्तिका लोकार्पण गरिएकोे छ ।
अष्ट्रेलियाली दूतावासको प्रायोजनमा अष्ट्रेलियाली सामाजिक उद्यमी तथा रोटरियन सान्ड्रा फिडेल्डीको परिकल्पनामा रिलेटिभ नेपालका विज्ञ मिथिला कलाकारहरूको कलाद्वारा तयार यस पुस्तिका तिलगंगा आँखा प्रतिष्ठानको बाल आँखा उपचार विभागमा उपलब्ध हुनेछन् । एक हजार प्रति प्रकाशन गरिएको बाल पुस्तिकाबाट उपचारका क्रममा आफ्नो पालो पर्खिरहेका बालबालिकाले स्वर्गीय डा. फ्रेड होलोज र डा.सन्दुक रुइतबीचको मित्रताको बारे समेत जान्न पाउँनेछन् । दुतावास, तिलगंगा आँखा प्रतिष्ठान र आफन्त नेपालको सहकार्यले परम्परागत कलामार्फत आँखा स्वास्थ्य सचेतना र आदिवासी साँस्कृतिक कलाको प्रवर्धन गर्ने अपेक्षा राखिएको छ ।
नेपालका लागि अष्ट्रेलियाली राजदुत भोल्कका अनुसार सन् १९९० को दशकको प्रारम्भदेखि नै स्वर्गीय डा. फ्रेड होलोज र डा.सन्दुक रुइतबीचको मित्रताको सम्झना गराउने यो पुस्तिकाले अस्ट्रेलिया र नेपालबीचको जन–जनताको सम्बन्धलाई प्रवद्र्धन गर्न सहयोग पुर्याउने आशा गरिएको छ । उनका अनुसार यस सिर्जनशील कार्यले कलाकारहरुको प्रतिनिधित्व गर्दै रिलेटिभ नेपालका कार्यकारी निर्देशक जयप्रकाश मण्डलले जनकपुरका मिथिला कलाकारहरुलाई निरन्तर सहयोग गरेकोमा टीआईओ,एफएचएफ,अष्ट्रेलियन दूतावास र सान्ड्रालाई धन्यवाद ज्ञापन गरे ।
त्यस्तै, उनले ,सान्ड्रा फिडेल्डेलीले निःस्वार्थ रुपमा नेपाली बालबालिकाहरु, कलाकारहरु र स्वास्थ्यकर्मीहरुलाइ पुर्याएको सहयोगको प्रशंसा गर्दै उनले दुई देशका जनताको सुमधुर सम्बन्धको महत्वपूर्ण श्रोत भएकोमा कृतज्ञता व्यक्त गरे ।