काठमाण्डौ । आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
असार २ गते आयोजित एक कार्यक्रममा आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीको जारी पूँजी रकम १ अर्ब ७८ करोड ५८ लाख रुपैयाँको ३० प्रतिशतले हुन आउने ५३ करोड ५७ लाख ४० हजार सेयर पूँजी बराबरको १०० रुपैयाँ अंकित दरको ५३ लाख ५७ हजार ४०० कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।
बिशेष गरी चिनिया सामानहरुको थोक व्यापार गर्ने केही व्यापारीहरुको संयुक्त लगानीमा,व्यापार गर्र्ने क्षेत्रमा आवश्यक न्यूनतम सुविधाहरुको कमी हुँदै गएको तथा दिनप्रतिदिन समस्या थपिन थालेकाले बिकल्पहरुको खोजी रुपमा आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनी लिमिटेड स्थापना भएको हो । विभिन्न खाकाअनुसार लगानीको वातावरण बनाएर बैंकसँगको सहकार्यमाका.म.पा. १४, बल्खुमा भएको करीब ३६ रोपनीभन्दा बढि जग्गा खरीद गरिएको हो ।
कम्पनीले उक्त जग्गामा कानूनका अधिनमा रहि व्यापारीक भवन निर्माण गरिसकेको छ । उक्त भवनमा जम्मा २ हजार १५२ पसल रहेको छ भने सिभिलतर्फको काममा ८६ प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ । आगामी वर्षहरूमा थप आर्थिक पूर्वाधारलगायत जलविद्युत आयोजनाहरूमा समेत लगानी गर्दै जाने कम्पनीले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                