काठमाण्डौ । इटलीको लक्जरी कार निर्माता कम्पनी फरारीले आफ्नो पहिलो ईभी कार आगामी वर्ष लञ्च गर्ने भएको छ । कम्पनीले ईभी मोडलको कार निर्माण गर्ने नयाँ कारखाना सञ्चालन गर्ने तयारी गरेको छ ।
कम्पनीको पहिलो ईभी कारको न्यूनतम मूल्य ५ लाख युरो पर्ने अन्तराष्ट्रिय मिडिया रिपोर्टमा जनाइएको छ । विश्वभरका ईभी निर्माताहरुले मूल्यमा गरिरहेको कटौतिका बाबजुत पनि कम्पनीले धनाढ्य ग्राहकलाई लक्षित गर्दै ईभी कार निर्माण गर्ने तयारी गरेको छ ।
कम्पनीले भने ईभी कारको मूल्यका बारेमा आधिकारीक कुनै पनि धारणा सार्वजनिक गरेको छैन । कम्पनीले नयाँ कारखानाको उद्घाटन उत्तर इटलीमा रहेको मारानेल्लोमा आगामी शुक्रबार गर्दैछ ।
यो कारखानाबाट गत वर्ष १४ हजार भन्दा कम कार डेलिभर भएका थिए । यो कारखानाबाट २० हजार कार उत्पादन गर्न सकिने क्षमता रहेको जनाइएको छ । यो कारखानाबाट कम्पनीले पेट्रोल र हाईब्रिड कारका साथै नयाँ ईभी कार समेत निर्माण गर्नेछ ।