काठमाण्डौ । एक महिनाको अवधिमा बजारमा नगद परिचालन १.७७ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ महिनाको वित्तीय विवरणमा यस्तो देखिएको हो ।
विवरण अनुसार चैत महिनासम्ममा बजारमा ६ खर्ब ६७ अर्ब ६३ करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । जुन गत वैशाख महिनाको तुलनामा १.७७ प्रतिशतले कम हो । वैशाख महिनासम्ममा बजारमा ६ खर्ब ७९ अर्ब ६८ करोड रुपैयाँबराबरको नगद परिचालन भएको थियो ।
जेठ महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २ खर्ब ६४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । जुन वैशाख महिनाको तुलनामा ५.३८ प्रतिशतले बढी हो । वैशाख महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ थियो ।
यस्तै राष्ट्र बैंकमा सरकारको निक्षेप भने घटेको छ । वैशाख महिनासम्म २ खर्ब ५१ अर्ब सरकारी निक्षेप रहेकोमा चैतसम्म बढेर २ खर्ब २१ अर्ब रुपैयाँमा सीमित बनेको छ ।
जेठ महिनासम्म राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ९४ अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा निक्षेप गरेका छन् । यो अवधिसम्म राष्ट्र बैंकमा ३४ अर्ब २ करोड रुपैयाँबराबरको सुन तथा चाँदीको मौज्जात रहेको छ ।
जेठ महिनासम्ममा राष्ट्र बैंकको कुल स्वेदेशी मुद्रा सम्पत्ति ९७ अर्ब ५६ करोड रुपैयाँ र कुल स्वदेशी दायित्व १३ खर्ब ५३ अर्ब रुपैयाँबराबर रहेको छ ।
यस्तै कुल विदेशी मुद्रा सम्पत्ति १८ खर्ब ६६ अर्ब र कुल विदेशी मुद्रा दायित्व ४५ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।