काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२७ प्रतिशत अर्थात ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०५ प्रतिशतले बढेर ३६५.०२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा कम्पनीको ९४ लाख ३५ हजार ४५४ कित्ता सेयर ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘अहिले असारको दबावका कारण बजारले खासै गति लिन नसकेको हो । प्राविधिक रुपमा बजारलाई हेर्दा लगभग करेक्सन फेज सकिएको देखिन्छ । नेप्से चार्टमा केहि दिनदेखि अनिर्णयका क्याण्डलहरु बनेका छन् । आज वा हिजोको क्याण्डलको उच्च विन्दु ब्रेक भएमा बजार एकपटक २३ सय विन्दुसम्म पुग्न सक्छ र घटेमा भने १०–२० अंक ओरालो लाग्न सक्छ ।’
अर्का बजार जानकार अजुर्न थापाले मन्दीका कारण लगानीकर्ता हायलकायल भएका कारण ब्याजदर घट्दापनि बजार बढ्न नसकेको बताए । ‘पहिले नै लगानीकर्ता डुबेका कारण पनि थप लगानी गर्न लगानीकर्ता डराएका छन् । सरकारबाट पनि कुनै ठोस परिणाम नआएका कारण बजार बढ्न सकेको छैन,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छायो । आज लगानी समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह १.७० अंकले बढ्यो । साथै आज विकास बैंक ०.३२ प्रतिशत,होटल १.१२,हाईड्रो १.१८,जीवन बीमा ०.५५,उत्पादन तथा प्रशोधन ०.३९,लघुवित्त ०.३४ र म्युचुअल फण्ड समूह ०.४२ प्रतिशतले बढ्यो ।
आज वित्त समूहमा सबैभन्दा धेरै अर्थात २.१५ प्रतिशतको गिरावट आयो । बैंकिङ समूहमा पनि ०.४६ प्रतिशतले घटेको आज निर्जीवन बीमा ०.२२,अन्य ०.०१ र व्यापार समूह ०.१८ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन आरएसडीसी लघुवित्तको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १४ करोड ८२ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड ६२ लाख,नेपाल फाइनान्सको ९ करोड ६९ लाख र पोखरा फाइनान्सको ९ करोड ४७ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज मकर जितुमाया सुरी हाईड्रोको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लाग्यो । आज न्यादी हाईड्रोको सेयरमूल्य ८.२३ प्रतिशत,अपर सोलु हाईड्रोको ६.९० र हाथवे इ्रन्भेष्टमेन्टको सेयरमूल्य ६.६४ प्रतिशतले बढ्यो ।
आज साधना लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यस्तै आज गूडविल फाइनान्सको सेयरमूल्य ३.७७ प्रतिशत,जानकी फाइनान्सको ३.६७ र शिवश्री हाईड्रोको सेयरमूल्य ३.५६ प्रतिशतले घट्यो ।