काठमाण्डौ । सिटिजन्स क्यापिटल लिमीटेडको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन् ।
क्यापिटलको मुख्य कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनलको तर्फबाट मनोनित भई अध्यक्षको रुपमा कार्यरत पारसकुमार काफ्लेको निधन भई रिक्त रहन गएको अध्यक्ष पदमा असार १३ गते बसेको संस्थाको १२५ औं संचालक समितिको बैठकले संचालक सदस्य रहेका राजेन्द्रलाल श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।
साथै, उक्त बैठकले रिक्त रहन आएको एक संचालक पदका लागि मुख्य कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनलको तर्फबाट मनोनित भई आएका नारायणराज अधिकारीलाई नियुक्ति गरेको छ ।
सो बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनलको तर्फबाट अन्य संचालक प्रमेशराज कायस्थ, कर्मचारी सञ्चयकोष तर्फबाट सुवाष खड्का, स्वतन्त्र संचालकहरु अभिजित मुल, ज्योत्सना बोहोरा पाण्डेका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईटेलको उपस्थिति थियो ।
नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको प्रवद्र्धन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन(पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता(अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डि–म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमतिप्राप्त भएको सिटिजन्स क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                