काठमाण्डौ । सेयर बजारमा यतिबेला ‘हट केक’को रुपमा रहेको रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा संसदीय समतिमा समेत प्रश्न उठेको छ । रिलायन्स स्पिनिङ मिल्सलाई महङ्गो मूल्यमा आईपीओ निष्कासनको अनुमति दिइएको विषयमा आज संसदीय समितिमा प्रश्न उठेको हो ।
आज बसेको प्रतिनिधि सभाको अर्थ समितिको बेठकमा नेपाली कांग्रेसका सांसद दीपक खड्काले रिलायन्स स्पिनिङ मिल्सको बारेमा प्रश्न उठाएका हुन् । खड्काले धितोपत्र बोर्डले कम्पनीलाई महङ्गो मूल्यमा आईपीओ निष्कासनका लागि अनुमति दिनुको कारण बारे प्रश्न तेर्साएका थिए । अन्य कम्पनीको आईपीओ निष्कासन प्रक्रिया लामो समयदेखि अवरुद्ध हुँदा रिलायन्स स्पिनिङले मात्रै महङ्गो मूल्य आईपीओ निष्कासनको अनुमति पाएको भन्दै खड्काले विरोध गरेका थिए ।
नेपाल धितोपत्र बोर्डले गत असार १२ गते कम्पनीलाई प्रतिकित्ता ८२०.८० रुपैयाँमा आईपीओ निष्कासनको अनुमति दिएको थियो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणहरुमाथि प्रश्न उठिरहेका छन् । नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड ट्रंक लाइन प्रयोग गरेबापत ७५ करोड बढी बक्यौता रकम तिर्न बाँकी रहेको कम्पनीमा लगानी जोखिममा पर्ने डरले लगानीकर्ता त्रसित अवस्थामा छन् ।
यस्तै लगानीकर्ताले नेपालको हालसम्मकै महङ्गो आईपीओ भएकाले यो आम सर्वसाधारणको पहुँचबाट टाढा भएको आरोप लगाएका छन् ।