काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज बजार करिब ३१ अंकले घटेर बन्द भयो । यो दिन बजारसँगै कारोबार रकममा समेत गिरावट आएको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा लामो समय देखि बोलिङगरको मध्य ब्यान्डमा टिकेको बजार आज मध्य ब्यान्डबाट तल खसेको छ ।
( हेर्नुहोस एरो ) यस अघि बजार यो विन्दुमा ८ वटा भन्दा बढी कारोबारमा टिकेर बन्द भएको थियो । यो सँगै आज बजारमा वियरिस मारुबुजु क्यान्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । म्याक्डी मार्फत हेर्दा बजारले यस अघिनै वियरिस क्रसओभर बनाएको छ ।
हिस्टोग्राम पनि बोल्ड र लामा–लामा हुँदै गएका छन् । आरएसआई मार्फत नियाल्दा बजार यस अघि ‘ओभर बट जोन’ ८२ बाट खसेर ४७ को न्युट्रल जोनमा आइपुगेको छ । घट्दो बजारमा यस्तो विन्दु ओभर सोल्ड जोन ३० भन्दा तल पनि आउन सक्छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजारमा बिक्री दबाव परेको देखिन्छ ।
अबको यात्रा कता ?
आज बलियो सपोर्ट करिव २०९० बाट तल खसेको बजार २०६७ मा बन्द भएको छ । उप–समूह अन्तगर्त हेर्दा पनि यस अघि राम्रो लय लिएका जलविद्युत र अन्य क्षेत्रमा आज बिक्री दबाव देखिएको छ । प्राविधिक रुपमा अन्य क्षेत्रमा शुटिङ स्टार पछि वियरिस मारुबुजु क्यान्डल बनेको कारण तुरुन्तै नाफा बुक गर्नु पर्ने संकेत देखिएको छ । जलविद्युतमा पनि आज बनेको बनेको क्यान्डल मध्य ब्यान्डबाट तल खसेको छ । यसले बजारमा आगामी दिनमा पनि थप बिक्री दबाव पर्न सक्ने देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिम पुर्ण हुने भएकाले यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।