काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ३.१३ प्रतिशत अर्थात ७०.१८ अंकले बढेर २ हजार ११५.२४ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.१० प्रतिशतले बढेर ४०९.५१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर ९ अर्ब १३ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्, ‘लगानीकर्ताले नवनियुक्त अर्थमन्त्री र राष्ट्र बैंकबीच सकारात्मक सहकार्य अपेक्षा गरेका कारण आज बजारमा सुधार आएको छ । मौद्रिक नीति पनि लचक आउने र क्याप पनि हट्न सक्ने भएकाले लगानीकर्ता उत्साहित बनेका छन् ।’
यहि कारण बजार मौद्रिक नीति अघि नै २५ सयको विन्दुसम्म पुग्न सक्ने विष्टले दाबी गरे । विष्टको विचारमा ट्रेण्डको हिसाबले अहिले बजार बुलिस नै रहेको छ ।
अर्का बजार जानकार उपेन्द्र पाठकको विचारमा पनि ठूला दलहरु मिलेर बनेको स्थिर सरकारका कारण नै बजारले गति लिएको हो । यो सँगै असार मसान्तको दबाव सकिनु, अर्थमन्त्रीले पूँजी बजारलाई अर्थतन्त्रको ऐनको रुपमा परिभाषित गर्नु र ब्याजदर घट्नु जस्ता विषयले पूँजी बजार आज उछाल आएको हो । आज ९ अर्ब माथिको कारोबार हुनुले पनि मौद्रिक नीति लचक आउने अपेक्षाले स्मार्ट मनि बजार पसेको देखिन्छ ’ उनले भने ।
आज भोल्युमसहित बजार २३ सय विन्दुमाथि हुनु भनेको बजार बुलिस चरणमा प्रवेश गरेको पाठककको निस्कर्ष छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो । आज हाईड्रो समूहमा सबेभन्दा धेरै वृद्धि देखियो । यो समूह आज ५.४५ प्रतिशतले बढ्यो ।
त्यस्तै आज बैंकिङ समूह २.७५ प्रतिशत, विकास बैंक ४.९४, वित्त १.८५,होटल ३.६३,लगानी ३.०६,जीवन बीमा २.९६,उत्पादन तथा प्रशोधन २.२३,लघुवित्त २.३०,निर्जीवन बीमा २.१२,अन्य २.१० र व्यापार समूह २.८८ प्रतिशतले बढ्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २१ करोड ७७ लाख बढीको कारोबार भयो । यस्तै,एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड २७ लाख,अपि पावरको १७ करोड ९३ लाख,जानकी फाइनान्सको १७ करोड १७ लाख र अरुण भ्याली हाईड्रोपावरको १६ करोड ७५ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ११ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सिन्धु विकास बैंक, वरुण हाईड्रोपावर,ग्रिन डेभलपमेन्ज्ट बैंक, आँखुखोला जलविद्यतु, मन्दाकिनी हाईड्रोपावर,सिक्लेस हाईड्रोपावर,सिंगटी हाईड्रोपावर,रिडी हाईड्रोपावर,अरुण भ्याली हाईड्रो,इङ्वा हाईड्रोपावर र अपि हाईड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज गणपति हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ८.३९ प्रतिशतले घटेको छ ।