काठमाण्डौ । छिमेकी देश भारतको सेयर बजारले अल टाइम हाईको उचाई चुमेको छ । आज भारतको सेयर बजार इन्डेक्स सेन्सेक्स ४०२ अंकले बढेर ८१ हजार ११९ को विन्दुमा पुगेको छ । यो सेन्सेक्सले चुमेको हालसम्मकै उच्च विन्दु हो ।
यस्तै निफ्टी५० पनि १२४ अंकले बढेर २४ हजार ७३४ को किर्तीमानी उचाईमा पुगेको छ । आज कारोबारको सुरुवात राम्रो गर्न नसकेको सेन्सेक्सले विस्तारै गति लिदै नयाँ उचाईमा पुगेको छ । आज सेन्सेक्स सुरुवाती सत्रमा २०० अंकले घटेर ८० हजार ५१४ विन्दुमा कारोबारको थालनी गरेको थियो । निफ्टी५० ले पनि ५० अंकको गिरावटका कारोबारको सुरुवात गरेको थियो ।
गत मंगलबार पनि भारतीय सेयर बजारले अल टाइम हाईको उचाईमा चुमेको थियो । हिजो भने भारतीय सेयर बजार बन्द थियो । आज कोल इण्डियाको सेयरमूल्य ३ प्रतिशत,बीपीसीएलको २.७१ प्रतिशत र हचयुएलको सेयरमूल्य २.४४ प्रतिशतले बढेको छ ।
एशियाली सेयर बजारले आज मिश्रित प्रदर्शन आईरहेको छ । जापानको निक्की इन्डेक्स १.९९ प्रतिशत र शाङघाई कम्पोजिट ०.४१ प्रतिशतले घटेको छ । हङकङको हाङसेङ ०.०५ प्रतिशतले बढेको छ ।