काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.४७ प्रतिशत अर्थात ७०.८१ अंकले बढेर २ हजार ९३१.६५ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१० प्रतिशतले बढेर ५१२.४७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३९ वटा स्क्रिप्टको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर २७ अर्ब २४ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज भएको कारोबार हालसम्मकै उच्च हो । यसअघि अघिल्लो कारोबार दिनमा २५ अर्ब ६० करोड २५ लाख रुपैयाँबराबरको कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘ हिजो आजको बजारको अवस्थालाई हेर्दा कारोबारले अलटाइम हाई बनाएकोमा परिसूचकले पनि छिट्टै अल टाइम हाई बनाउने देखिन्छ । अहिले नाफा बुक गरेकाहरु पनि सेक्टर परिवर्तन गर्दै बजार प्रवेश गरिरहेका छन् ।’
अन्य लगानीका क्षेत्रहरु संकुचित नै रहेकाले व्यापारीदेखि गृहणीसम्म सेयर बजारमा प्रवेश गरेको र बजार बढेतापनि अझै जोखिम नभएको उनले बताए ।
अर्का बजार जानकार महेश रिजालले पनि संस्थागत लगानीकर्ताहरु बजार छिर्दा कारोबार र भोल्युम दुवै बढेको बताए । ‘यो बढाईलाई प्राकृतिक मान्न सकिन्छ । लगानीकर्ताको मनोबल नियाल्दा बजारको यात्रा ३२ सय विन्दुसम्म स्वभाविक रहेको देखिन्छ ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज जीवन बीमा समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ५.८५ प्रतिशतले बढेर १४ हजार ७५९.१५ विन्दुमा पुग्यो ।
यस्तै आज बैंकिङ समूह २.९५ प्रतिशत,विकास बैंक ३ प्रतिशत,वित्त ४.८१,होटल २.९४,हाईड्रो ३.४३,लघुवित्त १.०८,म्युचुअल फण्ड ०.९३, निर्जीवन बीमा २.९७,अन्य १ र व्यापार समूह ४.१३ प्रतिशतले बढ्यो । यस्तै आज लगानी समूह ०.१९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह १.१९ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १ अर्ब २२ करोड,शिवम् सिमेन्टको ९२ करोड २८ लाख,नेपाल फाइनान्सको ८४ करोड ३२ लाख,निफ्राको ७२ करोड ८७ लाख र हिमालयन लाइफको ५७ करोड २५ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका १४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सूर्यज्योति लाइफ,हिमालयन लाइफ,जोशी हाईड्रोपावर,रसुवागढी हाईड्रो, स्वेत गंगा हाईड्रो,शुभम पावर,भिजन लुम्बिनी उर्जा,सगरमाथा जलविद्युत,हिमाल दोलखा हाईड्रो, नेशनल हाईड्रो, अरुण काबेली हाईड्रो,आँखुलोला जलविद्युत,शिखर इन्स्योरेन्स र विन्द्यवासिनी हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै आज कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्यमा लोअर सर्किट लाग्यो ।