काठमाण्डौ । नेप्सेले आफ्नो बुलिस सेन्टिमेन्टलाई आज पनि कायम राखेको छ । अघिल्लो दिनको वृद्धिलाई निरन्तरता दिदै आज पनि नेप्से परिसूचक उच्च अंकको वृद्धिका साथ अघि बढिरहेको छ ।
यो समाचार तयार पार्दासम्म १.९९ प्रतिशत अर्थात ५९ अंकले बढेको छ । यससँगै नेप्से परिसूचक ३ हजार १६.८५ विन्दुमा पुगेको छ । यो बेलासम्म १३२ वटा कम्पनीको सेयरमूल्यमा हरियाली छाएको छ भने १०४ वटाको सेयरमूल्यमा रातो पातिएको छ । ७ वटा कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
आज कारोबार खुलेको साढे २ घण्टामै १८ अर्ब ३५ करोड बढीको कारोबार भएको छ । कारोबारले बजारलाई केही दिनदेखि राम्रो साथ दिईरहेको छ । बजारमा नवप्रवेशी लगानीकर्ताको उत्साहजनक सहभागीता र सबै माहोल सकारात्मक रहेको अवस्थामा कारोबार रकम दैनिक वृद्धि भईरहेको छ ।
आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको अहिलेसम्म ५१ करोड ७५ लाख बढीको सेयर कारोबार भएको छ । अहिलेसम्म ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेको छ ।
नेपाल फाइनान्स लोअर सर्किट लाग्ने एक्लो कम्पनीको रुपमा रहेको छ ।
लगानीकर्ता यतिबेला बजारले यसअघिको अल टाइम हाई ब्रेक गर्नेमा विश्वस्त देखिएका छन् । राज्य सञ्चालनमा रहेकाहरुले समेत पूँजी बजारप्रति सकारात्मक दृष्किोण राख्न थालेपछि यो क्षेत्रप्रति आम सर्वसाधारणको विश्वास बढेर गएको छ । प्रधानमन्त्री र अर्थमन्त्रीले खुलेरै पूँजी बजारको समर्थन र विकासमा लाग्ने बताउँदै आएका छन् । यसले पनि बजारको वृद्धिलाई मलजल गरिरहेको छ ।