काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा जागिरको अवसर खुलेको छ । बोर्डले एक सूचनामार्फत प्रशासन समूहका लागि सहायक निर्देशकदेखि सहायकसम्म गरी कुल ६ जना कर्मचारी माग गरेको हो ।
बोर्डले सहायक निर्देशक(अधिकृत तृतीय श्रेणी) २ जना,वरिष्ठ सहायक(सहायक प्रथम श्रेणी)१ जना र सहायक(सहायक द्धितीय श्रेणी)३ जनाका लागि दरखास्त आह्वान गरेको छ । लिखित र अन्तर्वार्तामार्फत उम्मेद्वारको छनौट गरिने बोर्डले जनाएको छ । आवेदन दिने अन्तिम मिति भदौ २७ गते रहेको छ भने असोज ३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ ।
अधिकृत तृतीय श्रेणी सहायक निर्देशक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट वित्त, अर्थशास्त्र, व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेको वा वाणिज्य कानून मूल विषय लिई कानूनमा स्नातकोत्तर उपाधि प्राप्त गरेको वा चार्टर्ड एकाउन्टेन्सी वा चार्टर्ड फाइनान्सियल एनालिष्ट उपाधि हासिल गरेको हुनुपर्नेछ ।
सहायक प्रथम श्रेणी वरिष्ठ सहायक पदका लागि वित्त, अर्थशास्त्र, व्यवस्थापन वा वाणिज्य विषय लिई कानून वा सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ ।
सहायक द्वितीय श्रेणी सहायक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।