काठमाण्डौ । म्युचुअल फण्डहरुले नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये सर्वाधिक बैंक तथा बीमा कम्पनीहरुमा लगानी गरेका छन् । बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको सेयरमा लगानी गर्दा जोखिम कम हुने मर्चेण्ट बैंकरहरुको भनाई छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महिनासम्म नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या कुल २७१ पुगेको छ । जसमध्ये १३४ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् ।
बैंक वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ५८.६ प्रतिशत छ । यसर्थ सेयरबजार चलायमान बनाउन बैंक वित्तीय संस्था र बीमा कम्पनीको आधा भन्दा बढी योगदान छ ।
म्युचुअल फण्डहरुले पनि अधिकांश बैंक वित्तीय संस्था र बीमा कम्पनीकै सेयरमा बढी लगानी गरेका छन् । यता फण्डहरुको पनि सेयरबजारमा ठूलो लगानी रहेको हुन्छ । बजारमा आउने सुधार तथा करेक्सनको आधारमा नै म्युचुअल फण्डहरुले सूचीकृत सेयरमा लगानी घटाउने बढाउने गर्छन् ।
पुष महिनाको तथ्याङ्कअनुसार ४२ म्युचुअल फण्डहरुले लगानीका लागि बैंक र बीमा कम्पनी नै रोजेका छन् । बीमा कम्पनीहरुमा सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्समा लगानी गरेको पाइएको छ ।
सेयर स्क्रिनिङ सफ्टवेयर ‘स्मार्ट वेल्थ प्रो’को तथ्याङ्कअनुसार म्युचुअल फण्डहरुले नेशनल लाइफमा ८७ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै, यता निर्जीवन बीमा कम्पनीतर्फ नेको इन्स्योरेन्समा ८५ करोड ९९ लाख रुपैयाँ लगानी गरेको छ । साथै सगरमाथा लुम्बिनी (सलिको)को सेयरमा ७० करोड ७४ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरमा ६७ करोड ७० लाख, हिमालयन रि इन्स्योरेन्सको सेयरमा ६६ करोड ३१ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल०को सेयरमा ५९ करोड ८४ लाख रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्समा ४८ करोड ७२ लाख, एशियन लाइफको सेयरमा ३९ करोड ३० लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको सेयरमा २९ करोड ३९ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमा १४ करोड २६ लाख रुपैयाँ र आइएमई लाइफको सेयरमा १३ करोड ८५ लाख रुपैयाँ लगानी गरेको छ ।
साथै बैंकतर्फ भने म्युचुअल फण्डहरुले सबैभन्दा बढी एनआइसी एशिया बैंकको सेयरमा लगानी गरेका छन् । पुष महिनामा एनआइसी एशिया बैंकको सेयरमा मात्रै फण्डहरुले ९१ करोड रुपैयाँ लगानी गरेको छ ।
म्युचुअल फण्डहरुले सेयरबजारमा लगानी थप्दै गएमा बजार पुँजीकरण अझै बढ्दै जाने लगानीकर्ताहरु बताउँछन् । तथ्याङ्कअनुसार पनि फण्डहरुको बढी लगानी बैंक र बीमा कम्पनीमा छ । बजारमा ठूलो रकम लगानीका रुपमा भित्रिंदा सूचीकृत कम्पनीहरुको सेयरभाउ बढ्ने सक्ने लगानीकर्ताहरको भनाई छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                