काठमाण्डौ । गोरक्ष हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रमुख अजेण्डासहित दुई आवको साधारण सभा एकैपटक डाकेको छ ।
कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० र २०८०/८१ को साधारण सभा एकैपटक डाकेको हो ।
उक्त सभाहरु आगामी असोज ३ गते काठमाण्डौ बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजे आयोजना हुनेछ । उक्त सभामा कम्पनिको अधिकृत पूँजी वृद्धि गरि १ अर्ब ५० करोड पुऱ्याउने, कम्पनिको तत्काल जारी पूँजी वृद्धि गरि १ अर्ब ३० करोड पुर्याउने, कम्पनीको प्रबन्ध पत्रको नियम ६ बमोजिम जारी पूँजीको १० प्रतिशतका दरले हुन आउने सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई र १५ प्रतिशतले हुन आउने सेयर संस्थाका कर्मचारी, श्रम स्विकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरु, सामूहिक लगानी कोष र सर्वसाधारणहरुलाई प्राथमिक सेयर निष्कासन(आईपीओ) मार्फत जारी गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
यस्तै आव २०७९/०८० र आव २०८०/०८१ को सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने कार्य प्रगति प्रतिवेदन पारित गर्ने, यी दुवै आवको वार्षिक लेखापरीक्षण प्रतिवेदन, अनुसुची सहितकों वित्तीयं विवरणहरु अनुमोदन गर्ने र आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
यस्तै संस्थापक समूह मध्येबाट ३ जना र १ जना व्यवसायिक विशेषज्ञ संचालक चयन र मनोनित गर्ने प्रस्ताव समेत पारित हुनेछ ।