काठमाण्डौ । १६ औँ संस्करणको नाडा अटो शो २०२४ आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले नाडा अटो शोको उद्घाटन गरेका हुन् । उक्त अवसरमा बोल्दै उनले सरकारले सवारीसाधन बेच्ने मात्र नभएर अब उत्पादनतर्फ लाग्नु पर्ने समय आएको बताएका छन् ।
उक्त अवसरमा अर्थमन्त्रीले सरकारले सवारीसाधन बेच्ने मात्र नभएर अब उत्पादनतर्फ लाग्नु पर्ने समय आएको बताए। ‘अटो क्षेत्रका लागि नीतिगत सुधारसहित अघि बढने अहिलेको सरकारको योजना छ, अब सवारीसाधन बेच्ने मात्र होइन, अब अटो उत्पादनतर्फ लाग्नुपर्छ, राज्यले यसमा साथ दिन्छ,’ अर्थमन्त्रीले भने ।
नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीको रुपमा नाडा अटो शो लाई लिइन्छ । नाडाले प्रत्येक वर्ष नेपालीहरुको महान चाड दशैं तिहारको नजिकको समयमा अटो शो आयोजना गर्दै आईरहेको छ ।
यसपटकको नाडा शोमा टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स सह–प्रायेजकको रुपमा रहेको छ । यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ वटा दुई पाङ्गे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनमा राखिएका छन् ।
साथै, लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ ३३ कम्पनी र ७ वित्तीय संस्थाहरुले समेत शो मा सहभागिता जनाएका छन् । कुल मिलाएर, शोमा ९५ प्रदर्शकहरू सहभागी भएका छन् । जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन।
शो अवधिभर करिब ७५ हजार अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।











