काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले डण्डा शाखा कार्यालयमार्फत नारायणी आधारभूत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।
बैंकको डण्डा शाखा प्रमुख टिकाराम अधिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्षपुर्ण बहादुर ठकुरीलाई पोशाक हस्तान्तरण गरेका हुन् । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष ठकुरीले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कावासोती–१७, पुरानो अमलटारी क्षेत्र, नारायणीको तटिय क्षेत्रमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई गरिएको पोशाक हस्तान्तरणले विद्यार्थीहरुलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा बोल्दै बैंकका शाखा प्रमुख अधिकारीले कावासोती नगरपालिकासँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नारायणी आधारभूत विद्यालयका प्रध्यापक, कावासोती नगरपालिकाका वडा नं १७ का प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                