काठमाण्डौ । आम्दानीमा गिरावट आएसँगै नेपाल रिपब्लिक मिडिया लिमिटेड घाटामा गएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४२ लाख ६४ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी ३ करोड ९३ लाख रुपैयाँ नाफामा थियो ।
कम्पनीको आम्दानी ८ करोड ४ लाखबाट घटेर ५ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रशासनिक खर्च २ करोड ३२ लाख,बिक्री तथा वितरण खर्च १ करोड ७ लाख र आईपीओ निष्कासन खर्च ३८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ ५१ करोड ४० लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको अल्पकालिन कर्जा ६ लाख १५ हजार र दीर्घकालिन कर्जा २७ करोड ९९ लाख रुपैयाँ रहेकोमा नगद मौज्जाद १२ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ०.४४ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ८९.९३ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ०.६६ रुपैया कायम भएको छ ।