काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.९९ प्रतिशत अर्थात ७८.१७ अंकले बढेर २ हजार ६८८.३८ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.८९ प्रतिशतले बढेर ४७६.४८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर ८ अर्ब १६ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘आजको वृद्धिसँगै बजार फेरि बुलिस चरणमा प्रवेश गरेको छ । पछिल्लोसमय २ बजेपछि घटिरहेको बजार आज भने भोल्युम सहित बढेको छ । यसले लगानीकर्ताको बमनोबल बढेको भन्न सकिन्छ ।’
प्राविधिक रुपमा पनि बजारले हायर हाई र हायर लोका सिरिज बनाउँदै अघि बढेको छ उनले बताए । ‘फिवोनासीको ३८ प्रतिशत करेक्सन भएर बजार २६१० बाटै फर्केका कारण पनि अब बजारमा करेक्सन सकिएको बलियो आधार देखिन्छ,’ पाठकले भने ।
अर्का बजार जानकार विरेन्द्र विष्टले पनि बजारमा करेक्सन फेज सकिएको तर्क राखे । ‘अब मौद्रिक नीतिको समीक्षा पनि आउँदैछ । जसमा व्यक्तिगततर्फको क्याप हट्न सक्ने छलफल भएको कुरा बाहिर आएको छ । जसका कारण बजारले अब गतिलो बाउन्स लिने विश्वास गर्न सकिन्छ,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज हाईड्रो समूह सर्वाधिक अर्थात ४.२४ प्रतिशतले बढ्यो । बैंकिङ समूह आज २.६६ प्रतिशत, विकास बैंक २.७०,वित्त ३.४०,होटल २.५०,लगानी ३.७२,जीवन बीमा ३.४६,उत्पादन तथा प्रशोधन २.१४,लघुवित्त १.५८,निर्जीवन बीमा २.०१,अन्य ३.८२ र व्यापार समूह ०.६३ प्रतिशतले बढ्यो ।
आज म्युचुअल फण्ड मात्रै घट्यो । यो समूह ०.०९ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन सिईडिबि हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । सिईडिबि हाईड्रोको आज ४७ करोड ६५ लाख बढीको सेयर कारोबार भयो । यस्तै हिमालयन रि इन्स्योरेन्सको २४ करोड ४८ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको २४ करोड १२ लाख,अपि पावरको १८ करोड ८३ लाख र एचआईडीसीएलपीको १७ करोड ९ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ९ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज विन नेपाल लघुवित्त,ग्रिन भेन्चर,इष्टर्न हाईड्रोपावर,राँवा इनर्जी,एशियन हाईड्रोपावर,सिंगटी हाईड्रो,इमजिङ नेपाल,मायाखोला हाईड्रोपावर र मकर जितुमाया सुरीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यो दिन थ्रिस्टार हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घटेर लोअर सर्किट लाग्यो ।