काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी) ले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जस अनुसार कोषले उक्त अवधिसम्म ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ६.३८ प्रतिशतले बढी हो । अघिल्लो आवको पुस मसान्तसम्म कोषको खुद नाफा ५१ करोड ३२ लाख रुपैयाँ थियो ।
कोषको कुल आम्दानी ९२ करोड ४५ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको ८३ करोड ४३ लाखभन्दा १०.८१ प्रतिशतले धेरै हो । कोषको कुल आम्दानीमा सबैभन्दा बढी हिस्सा सेवाशुल्क तथा ब्याज आम्दानीको रहेको छ ।
कोषले सेवाशुल्क तथा कमिसन आम्दानीबाट ६८ करोड ४८ लाख ,ब्याज आम्दानीबाट २२ करोड ९५ लाख र विविध आम्दानीमार्फत १ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ ।
कोषको कुल खर्च अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ३१ प्रतिशतले बढेको छ । कोषको कुल खर्च १९ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
कोषको मुद्धती निक्षेपमा १ खर्ब २४ अर्ब बढी लगानी रहेको छ । बैंक मौज्जाद २ अर्ब १ करोड रहेको कोषको समकालिन कर्जा २४ अर्ब ८९ करोड रहेको छ । कोषको जगेडा कोषको आकार २४ अर्ब ४१ करोड रुपैयाँ छ ।
समीक्षा अवधिसम्म कोषको प्रतिसेयर आम्दानी २४.१५ रुपैयाँबाट घटेर २०.५५ रुपैयाँमा सीमित भएको छ । कोषको प्रतिसेयर नेटवर्थ १६५.०८ रुपैयाँ र लगानी प्रतिफल ९.१० प्रतिशत कायम भएको छ ।