काठमाण्डौ । नेपाली अरबपति धनाढ्य बिनोद चौधरीले भारतीय सेयर बजारमा वाईवाईको आईपीओ निष्काशन गर्ने तयारी भईरहेको बताएका छन् ।
सिजी कर्प ग्लोबलका अध्यक्ष चौधरीले ब्लूमबर्ग टिभीमा हस्लिन्दा अमिनलाई दिएको अन्तरवार्तामा यस्तो बताएका हुन् । अन्तरवार्ताका क्रममा उनले सन् २०२५ को सुरुवाततिर भारतीय बजारमा प्रि–लिस्टङ गरिने बताए । प्रि–आईपीओबाट प्राप्त फण्ड व्यवसाय विस्तारका लागि प्रयोग गर्ने र सन् २०२६ को पहिलो त्रैमाससम्म भारतीय बजारमा वाईवाईलाई सूचिकृत गर्ने तयारी भएको चौधरीले बताए ।
उनले प्रि–आईपीओ फन्डिङ योजनाका बारेमा थप खुलासा भने गरेनन् ।
‘भारतीय सेयर बजार यतिबेला अल टाइम हाईको उचाईमा रहेको छ । भारतीय सेयर बजारमा प्रवेश गर्न चुनौतीपूर्ण पनि छ। तर हामी यतिबेला पूर्वी युरोप, केन्द्रीय युरोपमा धेरैजसो एक्युजिशन गरिरहेका छौं, हामी अफ्रिकामा समेत व्यवसाय विस्तार गरिरहेका छौं । त्यसैले हामीसँग विश्व बजारमा उपस्थिती भएको फाइदा हुनेछ,’ उनले भने ।
भारतीय सेयर बजारमा वाईवाईले २८ प्रतिशत हिस्सा ओगटेको छ । वाईवाईले भारतीय बजारबाट वार्षिक ८ अर्ब भारतीय रुपैयाँ आम्दानी गर्दै आएको भारतीय मिडियाले लेखेका छन् ।