काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.३० प्रतिशत अर्थात ३२.८१ अंकले घटेर २ हजार ४८६.७६ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१७ प्रतिशतले घटेर ४४७.४५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ३९ लाख ९१ हजार ५९६ कित्ता सेयर ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘अहिले अर्थतन्त्रका सबै सूचकहरु सबल छन् । मुद्रास्फिति र ब्याजदर घट्दो अवस्थामा छ । तर पनि बजार एकोहोरो घटेको छ । यसलाई बजारमा ठूलो लगानी नभित्रिएको रुपमा बुझ्न सकिन्छ ।’
केही अल्पकालिन व्यापारीहरु सेयर बजारबाट पैसा लिएर निस्किएको पौडेले बताए । उनको अनुसार सरकारले सेयर बजारको सुधारका लागि नीतिगत रुपमा समेत केही काम गरेको छैन । ‘यसका साथै चाडपर्व र असोज मसान्तका कारणले पनि बजारमा करेक्सन आएको छ । यद्यपी यो समय सेयर बजारबाट भाग्ने भन्दा पनि आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्ने बेला हो ।’
पौडेलले हाल बुल नसकिएको दाबी गर्दै लगानीकर्तालाई धैर्य रहन समेत आग्रह गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार समूह १.०१ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.३० अंकले बढे ।
होटल समूह आज सर्वाधिक घट्यो । यो समूह आज २.३४ प्रतिशतले घट्यो । बैंकिङ समूह आज १.१५ प्रतिशत,विकास बैंक १.१७ प्रतिशत,वित्त २.०७,हाईड्रो २.३०,लगानी १.७०,जीवन बीमा ०.९३,लघुवित्त १.३१,म्युचुअल फण्ड ०.२९,निर्जीवन बीमा ०.७९ र अन्य समूह ०.९७ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४७ करोड ९९ लाख बढीको सेयर कारोबार भयो । यस्तै एनएलजी इन्स्योरेन्सको आज १७ करोड ७७ लाख,सिईडिबि हाईड्रोको १४ करोड २५ लाख,सानिमा रिलायन्स लाइफको १३ करोड ८५ लाख र नेपाल फाइनान्सको १३ करोड ३९ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएको विन नेपाल लघुवित्तको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य आज ५.०६ प्रतिशत र मोलुङ हाईड्रोपावरको सेयरमूल्य ३.७४ प्रतिशतले बढ्यो ।
यो दिन ग्रिन भेन्चर कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । दोर्दीखोला जलविद्युतको सेयरमूल्य आज ७.६९ प्रतिशत,अपि पावरको ७.४९,थ्रिस्टार होटलको ६.७३ र इङ्ग्वा हाईड्रोको सेयरमूल्य ६.६७ प्रतिशतले घट्यो ।