काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । प्रभु लाइफ इन्स्योरेन्स र गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि असोज १६ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न सभामा सहभागी हुन योग्य हुनेछन् ।
प्रभु महालक्ष्मी लाइफले आर्थिक वर्ष २०७९/८० का लागि १० प्रतिशत बराबर बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले आगामी असोज २३ गते वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट कम्पनीको प्रस्तावित लाभांश पारित गरिनेछ ।
त्यस्तै गुराँस लघुवित्तले पनि गत आवका लागि १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ । आगामी असोज २९ गते आयोजना हुने कम्पनीको वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरिनेछ ।