काठमाण्डौ । नबिल म्युचुअल फण्ड अन्तरगत सञ्चालित तीनवटा म्युचुअल फण्डमध्ये २ वटाको प्रति इकाई खूद सम्पत्ति मूल्य बढेको छ ।
२०८१ असार मसान्तसम्मको लेखापरीक्षण गरिएको वासलात योजना व्यवस्थापक नवील इन्भेष्टमेन्ट बैंकिंग लिमीटेडले मंगलबार प्रकाशन गरी यस्तो जानकारी दिएको हो ।
तीनवटा फण्डमध्ये नवील फ्लेक्सी क्याप फण्ड खुलामुखी तथा नवील ब्यालेन्स्ड फण्ड २ र नवील ब्यालेन्स्ड फण्ड ३ चाहिँ बन्दमुखी म्युचुअल फण्डहरु हुन् ।
२०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा नवील फ्लेक्सी क्याप फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य ९ रुपैयाँ ९० पैसाबाट बढेर १० रुपैयाँ ६४ पैसा पुगेको देखिएको छ ।
अघिल्लो वर्षसम्म ४३ लाख बढीले घाटामा रहेको यो फण्ड २०८१ असार मसान्तसम्म भने ४ करोड ६९ लाख बढी आम्दानी गर्दै सुधारिएको बाटोमा हिँडेको देखिन्छ ।
अघिल्लो वर्षको तुलनामा फण्डको ब्याज आम्दानी, लाभांश आम्दानी, वित्तीय सम्पत्तिमा प्राप्त भइसकेको आम्दानी र अन्य आम्दानी समेत बढेको छ ।
अघिल्लो वर्ष १ करोड १० लाखमा सीमि खर्च १ करोड १९ लाख पुगेको छ ।
यस्तै, २०८० असार मसान्तसम्म १०.९९ रुपैयाँ रहेको नवील ब्यालेन्स्ड फण्ड २ को न्याभ चाहिँ सामान्य घटी २०८१ असार मसान्तसम्ममा १०.८४ रुपैयाँमा सीमित बन्न पुगेको देखिएको छ।
यो फण्डको ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा घटेको छ भने लाभांश आम्दानी र वित्तीय सम्पत्तिमा प्राप्त नभइसकेको आम्दानीमा पनि गिरावट देखिएको छ ।
अघिल्लो वर्ष १० करोड बढी खूद आय भएकोमा यो वर्ष घटेर ९ करोड हाराहारीमा सीमित भएको छ भने खर्च लगभग उस्तै देखिन्छ ।
उता, नवील ब्यालेन्स्ड फण्ड ३ को न्याभ चाहिँ गत वर्षको ९.१४ रुपैयाँको तुलनामा बढेर ९.८८ रुपैयाँ पुगेको छ ।
ब्याज आम्दानी र लाभांश आम्दानी गत वर्षको तुलनामा घटे पनि वित्तीय सम्पत्तिमा प्राप्त भइसकेको आम्दानी तथा प्राप्त नभइसकेको आम्दानी ह्वात्तै बढ्दा फण्डको मुख्य सूचक सुधारिएको हो । यही कारण २०८० असार मसान्तसम्म ७ करोड १४ लाखमा सीमित खूद आय बढेर २०८१ असार मसान्तमा ९ करोड २१ लाख माथि पुगेको देखिएको छ ।