काठमाण्डौ । जेट निर्माता कम्पनी बोइङले करिब १७ हजार कर्मचारी निकाल्ने भएको छ । कर्मचारीहरुको आन्दोलनको सामना गरिरहेको कम्पनीले आफ्नो करिब १० प्रतिशत कर्मचारी कटौती गर्न लागेको हो ।
अहिले कम्पनीमा मेकानिक्सहरुको आन्दोलन पाचौं सातामा प्रवेश गरेको छ । यस्तै कम्पनीले निकै लामो समयदेखि ढिला भईरहेको नयाँ वाइड बढी विमानको लञ्चलाई पनि पछि धकेलेको छ ।
कम्पनीका सीईओ केली अर्टबर्गले कम्पनीको व्यवसाय अहिले कठिन मोडमा पुगेको र चुनौतिलाई सामना गर्न गाह्रो भईरहेको बताएका छन् । उनी २ महिनाअघि मात्रै कम्पनीको सीईओ नियुक्त भएका छन् ।
गत ५ वर्षमा ३३ अर्ब डलर घाटा व्यहोरेको कम्पनीका लागि यो नयाँ निर्णय नयाँ समस्याको रुपमा देखा परेको छ । यसबीचमा कम्पनीले सुरक्षासँग सम्बन्धित समस्या र नियामकबाट कारवाहिको समेत सामना गर्नु परेको छ ।
यो वर्षको सुरुवातमा बोइङमा १ लाख ७१ हजार कर्मचारी कार्यरत थिए । जसमध्ये १ लाख ४७ हजार कर्मचारी अमेरिकामा मात्रै छन् ।