काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा आज आया्जना गर्दैछ । संस्थाको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार आज धनकुटाको हिलेमा रहेको होटल कान्जिरोवामा बिहान ९ बजेदेखि सभा सुरु हुनेछ ।
उक्त सभामा संस्थाको सञ्चालक समितिले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने र यससम्बन्धी नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरूप प्रचलित कानुनको अधिनमा रही संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन वा परिमार्जन वा समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात, आव २०८०/८१ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरण तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनको संस्थाले गत असोज १६ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।