काठमाण्डौ । धितोपत्र बजारको नियामक निकाय धितोपत्र बोर्ड गत पुस २० गतेदेखि अध्यक्षविहिन रहेको छ । हाल धितोपत्र बोर्डका बरिष्ठ अधिकारी नबराज अधिकारीलाई निमित्तको अधिकार सुम्पिएको छ । त्यस लगतै अध्यक्ष छनौटका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादूर श्रेष्ठको संयोजकत्वमा तीन सदस्य समिति बनेको छ ।
तर समितिले डेढ महिना वितिसक्दा पनि अध्यक्ष पदका लागि आवेदनसम्म माग गर्न सकेको छैन । स्रोतले दिएको जानकारी अनुसार दुईवटा सत्ताधारी पार्टी नेपाली काग्रेंस र नेकपा माओवादीबीच बोर्ड अध्यक्षको नाम टुँगो नलाग्दा आबेदन माग नै हुन सकेको छैन ।
स्रोतका अनुसार पहिले अध्यक्षको नाम गोप्य रुपमा २ वटा दलले टुंगो लगाए पछि मात्रै त्यही अनुसारको मापदण्ड राखेर आबेदन माग खुलाइनेछ । स्रोतका अनुसार धितोपत्रबोर्डको अध्यक्ष नेकपा माओवादी र अर्को बर्ष खाली हुँदै गरेको राष्ट्र बैंकको गभर्नर नेपाली काँग्रेसले पाउने सहमति भएको थियो । तर पछि नेपाली काँग्रसले एक बर्ष पछि खाली हुने पदमा अहिले नै सम्झौता हुन नसक्ने बताए पछि बोर्ड अध्यक्षको पदको आबेदन नै अलमलमा परेको हो ।
गत विहीबार यही कारणले तीन सदस्य कमिटीको बैठक बसेता पनि आबेदन माग हुन नसकेको स्रोतले जनाएको छ । हाल धितोपत्र बोर्डका लागि बजारमा १० देखि १५ जनाको चर्चा सुनिन्छ । जसमा धितोपत्रबोर्ड भित्रैबाट हालको निमित्त अध्यक्ष नबराज अधिकारी , निबर्तमान अध्यक्ष रमेश कुमार हामलका विश्वसनिय पात्र भनेर चिनिएका मुक्ति नाथ श्रेष्ठ , बिनय देब आचर्य रहेका छन् ।
त्यसगरी, धितोपत्र बोर्ड बाहिरबाट लगानी बोर्डका उपाध्यक्ष शुसील भट्ट , नेपाल राष्ट्र बैंकका तत्कालीन डेप्युटी गभर्नर शिवराज श्रेष्ठ ,तत्कालीन बीमा प्राधिकरणका अध्यक्ष चिरञ्जीबी चापागाई , तत्कालीन एनएमबी क्यापिटका प्रमुख कार्यकारी अधिकृत मुक्ति अर्याल , तत्कालिन नेपाल स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिहं साउँद तथा हालका सीडीएसीको प्रमुख कार्यकारी अधिकृत पुर्णप्रसाद आचार्य लगाएत धितोपत्रबोर्डमा आकांक्षी रहेको बजारमा चर्चा रहेको छ ।