काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२१ अंकले घटेर २ हजार ६७७.४० विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले घटेर ४७७.९९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको ९७ लाख १३ हजार ७३० कित्ता सेयर ४ अर्ब २० करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे अजय सिंह थापा (जय शम्भु) ले अझै पनि चाडपर्व नै चलेको कारण बजारमा खासै कुनै उतारचढाव नरेको बताए । थापाले भोली पनि बजार सामान्य नै रहने अनुमान गरे। ‘किनकी छठ पर्व बाँकी नै छ । प्राविधिक रुपमा पनि बजार २५ सय विन्दुमाथि रहुन्जेल बुलिस नै रहने सम्भावना रहेको छ । आगामी साताबाट बजारले स्पष्ट दिशा निधारण गर्ने छ ।’ उनले भने ।
त्यसैगरि अर्का बजार जानकार टेकेन्द्र थपलियाले पनि लामो ,बिदापछि खुलेका कारण लगानीकर्ता सक्रिय नहुदा बजार घटेको बताउँछन् । उनी भन्छन्, ‘लगानीकर्ता आज पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । त्यही कारण आज कारोबार पनि धेरै हुन नसकेको हो । थपलियाले पनि आगामी साताबाट मात्रै बाजरले गति लिन सक्ने अनुमान गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज निर्जीवन बीमा समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज १.०६ प्रतिशतले बढेर १४१.५२ विन्दुमा पुग्यो ।
यस्तै आज वित्त समूह ०.२० प्रतिशत, होटल ०.८२, हाईड्रो ०.७७, जीवन बीमा ०.३९,म्युचुअल फण्ड ०.०३ र अन्य समूह ०.२४ प्रतिशतले बढ्यो ।
आज बैंकिङ समूह ०.८१ प्रतिशत,विकास बैंक ०.४८, लगानी ०.०४,उत्पादन तथा प्रशोधन ०.२९, लघुवित्त ०.०७ र व्यापार समूह ०.७४ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २९ करोड ९० लाख बढीको कारोबार भयो । सानिमा जिआईसी इन्स्योरेन्सको आज १६ करोड ६१ लाख, एनएलजी इन्स्योरेन्सको १५ करोड ८४ लाख,आईजीआई इन्स्योरेन्सको ११ करोड ६१ लाख र समृद्धि फाइनान्सको ११ करोड ६० लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सुपर माई हाईड्रो,समाज लघुवित्त र युनाइटेड इदी मर्दीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । गुराँस लघुवित्तको सेयरमूल्य पनि आज ९.३२ प्रतिशत र रसुवागढी हाईड्रोको सेयरमूल्य ८.७५ प्रतिशतले घट्यो ।
मिड सोलु हाईड्रोपावरको सेयरमूल्यमा आज लोअर सर्किट लाग्यो । अपर स्याङ्गे हाईड्रोपावरको सेयरमूल्य पनि आज ८.९४ प्रतिशतले घट्यो । सामलिङ पावरको सेयरमूल्य ६.४९ प्रतिशतले घटेको आज एक्सेल डेभलपमेन्ट बैंकको ५.९७ र एनआईसी एशिया फ्लेक्सी फण्डको मूल्य ५.९१ प्रतिशतले घट्यो ।