काठमाण्डौ । नेप्सेमा सूचीकृत २६९ वटा कम्पनीमध्ये ९१ वटा कम्पनी हाइड्रोपावर छन् । सूचीकृत कम्पनीहरुमा अहिले एक तिहाई भन्दा बढी हाइड्रोपावर कम्पनी नै रहेकाले सेयरबजारमा हाइड्रो सेक्टरको निकै चर्चा पनि हुने गरेको छ ।
हाइड्रोपावर कम्पनीलाई नियमन गर्न सरकारले विद्युत नियमन आयोग गठन गरेको छ । हाइड्रो कम्पनीलाई आइपीओ निष्कासनसँगै हकप्रद निष्कासन गर्न समेत विद्युत नियमन आयोगको स्वीकृति आवश्यक पर्छ । आयोगले पछिल्लो समय हाइड्रो कम्पनीहरुलाई धमाधम हकप्रद निष्कासनको अनुमति दिन थालेपछि अहिले नेपाल धितोपत्र बोर्ड ९सेबोन०को पाइपलाइनमा दर्जनौं कम्पनी हकप्रदको अनुमति माग्दै स्वीकृतिको पर्खाइमा छन् ।
नयाँ आयोजनामा लगानी बढाउन र सञ्चालन भइसकेका आयोजनाको ऋण तिर्न समेत आयोगले हाइड्रो कम्पनीलाई सहजै हकप्रद निष्कासनको अनुमति दिन थालेपछि हाइड्रो कम्पनीहरुले हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएका हुन् ।
धितोपत्र बोर्डबाट हालसम्म दुईवटा कम्पनी लिबर्टी इनर्जी र बलेफी हाइड्रोले हकप्रद निष्कासनको अनुमति पाइसकेको छ भने १२ वटा कम्पनी भने बोर्डको पाइपलाइनमै छन् । पछिल्लो समय धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको लागि कम्पनीहरुले धमाधम स्वीकृति पाउन थालेका छन् ।
हकप्रद आउने भएपछि दोस्रो बजारमा लगानीकर्ताहरुको हाइड्रो सेक्टरमा आकर्षण बढ्दो छ । हालसम्म दुई कम्पनीले बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाइसकेका छन् भने बाँकी १२ वटा कम्पनी अनुमतिको पर्खाइमा छन् ।
कुल १४ वटा हाइड्रो कम्पनीको १० अर्ब ८६ करोड ८९ लाख रुपैयाँ बराबरको १० करोड ८६ लाख ८९ हजार २०२ कित्ता हकप्रद निष्कासको प्रक्रियामा छ । जसमध्ये लिबर्टी इनर्जी र बलेफी हाइड्रोको २ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ बराबरको २ करोड ५७ लाख ७९ हजार ७०० कित्ता हकप्रद निष्कासनको लागि बोर्डबाट स्वीकृत भइसकेको छ भने ८ अर्ब २९ करोड ९ लाख ५० हजार रुपैयाँ बराबरको ८ करोड २९ लाख ९ हजार कित्ता हकप्रद सेबोनबाट स्वीकृत हुन बाँकी छ ।
कुनको कति ?
हकप्रद सेयर निष्कासनको अनुमति माग्दै अझै १२ वटा हाइड्रो कम्पनी धितोपत्र बोर्डको पाइपलाइनमा छन् । अधिकांश हाइड्रोले शतप्रतिशत हकप्रद अर्थात् १ः१ अनुपातमा हकप्रद जारी गर्ने सेबोनसँग अनुमति मागेका छन् ।
सबैभन्दा बढी ङादी ग्रुप पावरले १ः१ अनुपातमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनको लागि अनुमति मागेको छ । बोर्डबाट स्वीकृति पाएमा कम्पनीले १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद जारी गर्नेछ ।
त्यस्तै, शिव श्री हाइड्रोले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ, दोर्दी खोला जल विद्युतले १ अर्ब ५ करोड ४२ लाख रुपैयाँ, रिभर फल्स पावरले ७० करोड रुपैयाँ, राप्ती हाइड्रोले ६१ करोड २७ लाख ९३ हजार रुपैयाँ, बरुण हाइड्रोले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ, खानी खोला हाइड्रोले ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ र तेह्रथुम हाइड्रोले ४० करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न अनुमति मागेको छ ।
यसका साथै छ्याङदी हाइड्रोले ३८ करोड ६९ लाख ७७ हजार रुपैयाँ, पिपुल्स पावरले ३१ करोड ६३ लाख रुपैयाँ, बाराही हाइड्रोले २५ करोड रुपैयाँ र जोशी हाइड्रोले २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबरको हकप्रद निष्कासनको अनुमति मागेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                