काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको नाफा र आम्दानीमा सामान्य सुधार आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २.२९ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी पनि ०.५६ प्रतिशतले बढ््दै ५ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा कम्पनीको वित्त खर्च २१ लाख ६० हजार रुपैयाँबाट घटेर १५ लाख ९३ हजार रुपैयाँमा सीमित बनेको छ । कम्पनीको प्रशासनिक खर्च भने १७ लाख ६५ हजार रुपैयाँबाट बढेर २१ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।
४९ करोड ३३ लाख रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिजर्भमा २१ करोड ९६ लाख रुपैयाँ सञ्चित रहेको छ । नेपाल विद्युत प्राधिकरणसँग भएको सम्झौताअन्तगर्तको अतिरिक्त २० प्रतिशतले हुन आउने ७ करोड ५९ लाख २८ हजार ८१८ रुपैयाँ प्राधिकरणसँग लिन बाँकी रहेको कम्पनीले जनाएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३०.२० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४४.५२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६५.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६.२९ गुणा र तरलता अनुापत ३ प्रतिशत कायम भएको छ ।