काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्म ३० करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १३.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कोषको खुद नाफा २६ करोड ४८ लाख रुपैयाँ थियो ।
कोषले ५१ करोड ७० लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.५९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कोषले ४५ करोड ९१ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो ।
कोषले आर्जन गरेको कुल आम्दानीमा ११ करोड ९८ लाख ब्याज आम्दानी, ३९ करोड १६ लाख सेवा शुल्क तथा कमिसन आम्दानी र ५५ लाख ३३ हजार रुपैयाँबराबरको अन्य सञ्चालन आम्दानी रहेको छ । कोषको कुल खर्च अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा ९.१९ प्रतिशतले बढेको छ । कोषको कुल खर्च ११ करोड ५७ लाख रुपैयाँ रहेको छ ।
कोषले २ खर्ब ५० अर्ब रुपैयाँबराबरको कुल लगानी गरेको छ । जसमा मुद्धती निक्षेपमा १ खर्ब ३७ अर्ब ,नेपाल सरकारको ऋणपत्रमा ५० करोड,समयकालिन कर्जामा २५ अर्ब ,संगठित संस्थाको सेयरमा ३० अर्ब ९४ करोड र सहायक कम्पनीमा २ अर्ब ७२ करोड रुपैयाँ लगानी रहेको छ । कोषको बैंक मौज्दात ६ अर्ब २३ करोड र चालु सम्पत्ति ४२ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । कोषको जगेडा कोषको आकार १८ अर्ब ३४ करोड रुपैयाँबराबर रहेको छ ।
समीक्षा अवधिसम्म कोषको प्रतिसेयर आम्दानी १९.८७ रुपैयाँ, नेटवर्थ १५७.४२ रुपैयाँ र लगानी प्रतिफल ६.९४ प्रतिशत कायम भएको छ ।