मंगलवार, बैशाख ९,२०८२ 06:48:57
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 06:48:57
IME remit
Global IME Bank Limited

हाइड्रो कम्पनीले कमाए रु. ३.८१ अर्ब नाफा, २० वटा घाटामा

इपीएस कुनको कति ?

Hyundai Nepal
हाइड्रो कम्पनीले कमाए रु. ३.८१ अर्ब नाफा, २० वटा घाटामा
Nabil Bank Limited

काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुले पौने ४ अर्ब रुपैयाँ नाफा कमाएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेप्सेमा सूचीकृत ९० वटा हाइड्रोपावर कम्पनीले ३ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।  

यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा ३५.०४ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म हाइड्रो कम्पनीहरुले २ अर्ब ८२ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।  

समिक्षा अवधिसम्ममा ७० वटा हाइड्रो कम्पनीहरु नाफामा उक्लिएका छन् भने २० वटाले घाटा ब्यहोरेका छन् । गत आवको यसै अवधिसम्ममा भने ५६ वटा कम्पनी मात्रै नाफामा थिए भने बाँकी ३४ वटा कम्पनी घाटामा थिए । गत आर्थिक वर्षको तुलनामा यस वर्ष अधिकांश हाइड्रो कम्पनीले नाफामा सुधार गर्न सफल भएका छन् ।  

गत असोज महिनामा आएको भीषण वर्षाका कारण अधिकांश हाइड्रो कम्पनीहरुमा असर पुगेको थियो । तर कात्तिक महिनामै हाइड्रो कम्पनीहरुले क्षति भएका सम्पत्तिको बीमा दाबीको भुक्तानी पाएपछि हाइड्रो कम्पनीहरुको नाफामा सुधार देखिन पुगेको हो । साथै केही कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानीमा समेत उल्लेख्य सुधार देखिएपछि खुद मुनाफामा टेवा पुगेको हो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

नाफामा उक्लिएका कम्पनीहरुमा पनि ३० भन्दा बढी कम्पनीले गत आवको तुलनामा नाफा बढाउन सफल भएका छन् भने अप्पर तामाकोशी हाइड्रोसहित ५० भन्दा बढी कम्पनीको नाफा गत आवको तुलनामा घट्न पुगेको तथ्याङ्कले देखाएको छ ।  

पहिलो त्रैमाससम्म सबैभन्दा बढी नाफा कमाउने हाइड्रो कम्पनीमा अप्पर तामाकोशी हाइड्रो रहेको छ । कम्पनीले समिक्षा अवधिसम्म ६३ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तर कम्पनीको यो नाफा गत आवको तुलनामा भने ३७.२६ प्रतिशत कम हो । गत आवको यसै अवधिसम्म यस कम्पनीले १ अर्ब ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

त्यस्तै, दोस्रो बढी नाफा कमाउनेमा साहज उर्जा रहेको छ । कम्पनीले ४० करोड २ लाख रुपैयाँ नाफा कमाएर दोस्रो स्थान कायम गरेको छ । यता माउन्टेन इनर्जीले ३० करोड ५३ लाख रुपैयाँ नाफा कमाउँदा ग्रीन भेन्चर्स लिमिटेडले २३ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ ।  

यसका साथै चिलिमे हाइड्रोले २० करोड ९७ लाख, सानिमा माई हाइड्रोले २० करोड २० लाख, अपि पावरले १८ करोड १७ लाख, सुपर मादी हाइड्रोले १६ करोड १३ लाख रुपैयाँ र सानिमा मिडिल तमोर हाइड्रोले १४ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

बाँकी २० वटा कम्पनीले भने यस अवधिसम्म घाटा ब्यहोरेका छन् । सबै भन्दा धेरै घाटा ब्यहोर्नेमा माउन्टेन हाइड्रोपावर रहेको छ । कम्पनीले ३८ करोड ६२ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । यता छ्याङदी हाइड्रोले पनि ८ करोड ७९ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

साथै गत आवको तुलनामा सर्वाधिक नाफा बढाउने कम्पनीमा भने मिड–सोलु हाइड्रोपावर रहेको छ । कम्पनीले १९१०.६० प्रतिशतले नाफा बृद्धि गरेको छ । गत आवको पहिलो त्रैमाससम्म १७ लाख रुपैयाँ मात्रै नाफा कमाएको यस कम्पनीले यस अवधिसम्म ३ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

बिजुली बिक्रीबाट रु.१४ अर्ब आम्दानी  

हाइड्रोपावर कम्पनीहरुले चालु आवको पहिलो त्रैमाससम्म बिजुली बेचेर १४ अर्ब ५ करोड २३ लाख रुपैयाँ आम्दानी गरेका छन् । जुन यो गत आवको पहिलो त्रैमाससम्मको तुलनामा १२.६८ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म हाइड्रो कम्पनीहरुले विद्युत बिक्री गरेर १२ अर्ब ४७ करोड ४ लाख रुपैयाँ आम्दानी गरेका थिए ।  

गत आवको तुलनामा अधिकांश कम्पनीहरुको विद्युत बिक्री आम्दानी बढेको देखिएको छ । यसकारण पनि हाइड्रो कम्पनीहरुको नाफा बढ्नमा टेवा पुगेको हो ।  

पहिलो त्रैमाससम्म सबैभन्दा धेरै अप्पर तामाकोशीले विद्युत बिक्री आम्दानी गरेको छ । कम्पनीले २ अर्ब ९३ करोड रुपैयाँ बिजुली बेचेर कमाएको छ । तर यो आम्दानी गत आवको तुलनामा २१.२१ प्रतिशत कम हो । गत आवको पहिलो तीन महिनामा कम्पनीले ३ अर्ब ७१ करोड रुपैयाँ बिजुली बेचेर कमाएको थियो ।  

त्यस्तै, साहज उर्जाले ८६ करोड ७१ लाख, ग्रीन भेन्चर्सले ५६ करोड ७८ लाख, सानिमा मिडिल तामोर हाइड्रोले ५५ करोड ७७ लाख, माउन्टेन इनर्जीले ४९ करोड ६० लाख, अपि पावरले ४७ करोड ५२ लाख, सुपर मादी हाइड्रोले ४२ करोड १५ लाख, चिलिमेले ३६ करोड १८ लाख रुपैयाँ र श्वेत गंगा हाइड्रोले २९ करोड १४ लाख रुपैयाँ विद्युत बिक्री गरेर आम्दानी गरेको छ ।  

गत आवको तुलनामा सर्वाधिक बिद्युत बिक्री आम्दानी बढ्ने कम्पनीमा भने अरुण भ्याली हाइड्रो रहेको छ । कम्पनीले ४८५.५७ प्रतिशतले यस्तो आम्दानी बढाएको छ ।  

Muktinath Bikas Bank Limited

इपीएस कुनको कति ?  

९० वटा हाइड्रोपावरमध्ये २० वटा कम्पनीको प्रतिसेयर आम्दानी ९इपीएस०ऋणात्मक छ । सेयरबजारमा लगानी गर्नेहरुका लागि इपीएस सूचक एकदमै महत्वपूर्ण सूचक मानिन्छ ।  

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार सबैभन्दा धेरै इपीएस तेह्रथुम पावर कम्पनीको छ । कम्पनीको इपीएस ४६.०३ रुपैयाँ छ ।  

त्यस्तै, साहज उर्जाको ४५.७४ रुपैयाँ, सिक्लेस हाइड्रोको ३८.६७ रुपैयाँ, अप्पर हेवाखोला हाइड्रोको ३६.११ रुपैयाँ, युनाइटेड मोदी हाइड्रोको ३१.८६ रुपैयाँ, सुपर मादी हाइड्रोको ३०.७२ रुपैयाँ, रुरु जलविद्युत कम्पनीको ३०.२० रुपैयाँ, मकर जितुमाया सुरी हाइड्रोको २९.५३ रुपैयाँ, नेपाल हाइड्रो डेभलोपर्सको २४.२६ रुपैयाँ, कालिका पावरको २१.११ रुपैयाँ र रिभर फल्स पावरको १९.१२ रुपैयाँ छ ।  

२० वटा कम्पनीको इपीएस भने ऋणात्मक अवस्थामा रहेको छ । सर्वाधिक पिपुल्स पावरको इपीएस ७२.०३ रुपैयाँ ऋणात्मक रहेको छ । यता हिमाल दोलखा हाइड्रोको पनि ६३.०६ रुपैयाँ ऋणात्मक अवस्थामा छ ।

 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.