काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३३ प्रतिशत अर्थात ९.०९ अंकले बढेर २ हजार ७११.७५ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०७ प्रतिशतले बढेर ४७८.५० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर ७ अर्ब ९ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘अहिले सेयर बजारमा एक्युमुलेसन नै चलेको छ । यसका साथै लगानीकर्ताले सस्तो मूल्यमा सेयर खरिद गर्न चाहेका छन् । यही कारण अहिले सेयर बिक्री गर्नेभन्दा पनि कित्ता जोगाउने समय हो । आजको क्याण्डलले बजार तल जानलाई रिजेक्सन गरेको छ ।’
अघिल्लो दिन ५१ अंकले घटेको बजारमा आजको क्याण्डलले तल्लो विन्द्ुलाई रिजेक्सन गरेको उनले बताए । यसले प्यानिक सेल नभएको संकेत गरेको समेत उनले बताए ।
अर्का बजार जानकार सुवासचन्द्र ढुङ्गानाले हिजोको बजारको घटाईलाई रोक्दै आज बढेको बजारले सम्हालिन खोजेको संकेत गरेको बताए । ‘यद्यपी बजार २७५० भन्दा माथि ११ अर्बको कारोबारसहित नबढेसम्म आजको बढाई पुलब्याक मात्रै हुन सक्ने देखिन्छ,’ उनले भने ।
उनको विचारमा प्राइस एक्सनबाट हेर्दा भने बजार बुलिस नै रहेको छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज विकास बैंक समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ३.३८ प्रतिशतले बढ्यो । फाइनान्स समूह आज १.६६ प्रतिशत,होटल ०.४५, हाईड्रो १.२८, लगानी ०.२०,लघुवित्त ०.०७,म्युचुअल फण्ड ०.३८ र व्यापार समूह ०.२७ प्रतिशतले बढ्यो ।
बैंकिङ समूह आज ०.२६ प्रतिशत,जीवन बीमा ०.१८,निर्जीवन बीमा ०.२१ र अन्य समूह ०.०७ प्रतिशतले बढ्यो । यस्तै आज उत्पादन तथा प्रशोधन समूह पनि ०.२१ अंकले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३२ करोड ८१ लाख बढीको सेयर कारोबार भयो । जानकी फाइनान्सको आज ३२ करोड २० लाख, नेपाल फाइनान्सको २३ करोड २२ लाख,हिमालयन उर्जा विकासको १९ करोड १७ लाख र वेष्ट फाइनान्सको १५ करोड ५१ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,नेपाल हाईड्रो,सप्तकोशी डेभलपमेन्ट बैंक,मिथिला लघुवित्त,कर्णाली डेभलपमेन्ट बैंक,जानकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै सुपर मादी हाईड्रोको सेयरमूल्य ८.४२ प्रतिशत र माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ७.८८ प्रतिशतले बढ्यो ।
गुराँस लघुवित्तको सेयरमूल्यमा आज १० प्रतिशतको गिरावटका साथ लोअर सर्किट लाग्यो । यो दिन युनिक नेपाल लघुवित्तको सेयरमूल्य पनि ७.०६ प्रतिशत र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य २.४१ प्रतिशतले घट्यो ।