काठमाण्डौ । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आम सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।
मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रथम साधारण सभा आह्वान गरेको हो । उक्त सभा पुस १ गते धुलिखेलमा रहेको होटल सारथीमा दिउसो साढे २ बजेदेखि सुरु हुनेछ । सभामा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै गत आवका सम्पूर्ण वित्तीय विवरण पारित गर्नुका साथै स्वतन्त्र सञ्चालकको नियुक्ती र सञ्चालक समितिको गठन र निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
कम्पनीले आईपीओ जारी गर्ने कार्यका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले जारी पूँजीको १४.८६ प्रतिशत अर्थात ११ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्ने तयारी गरेको छ ।