काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.३० प्रतिशत अर्थात ८.३० अंकले घटेर २ हजार ७४८.०५ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले घटेर ४७७.५० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर ८ अर्ब ५४ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेल भन्छन्, ‘बजारको समग्र अवस्था हेर्दा दीर्घकालमा बजार बढ्ने नै हो । आजको घटाईलाई सामान्य करेक्सनको रुपमा लिन सकिन्छ । सूचकसँगै कारोबार घट्नुलाई लगानीकर्ताले घटेर बेच्न नचाहेको रुपमा बुझ्न सकिन्छ ।’
मौद्रिक नीतिको समीक्षामा बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबार गर्न सहज बनाउने र क्याप हटाउने जस्ता विषय समेटेर बजारलाई चलायमान बनाउनु पर्नेमा फुल्लेले जोड दिए । यस्तै उनले धितोपत्र बोर्डका नयाँ अध्यक्षले पूँजी बजारलाई चलायमान बनाउन राष्ट्र बैंकसँग समन्वयन गर्नुपर्ने बताए ।
अर्का बजार जानकार गोविन्द प्रसाद घिमिरेले पनि आजको बजारको घटाईलाई सामान्य करेक्सनको रुपमा व्याख्या गरे । ‘लगानीकर्ताले यतिबेला गूड न्यूज खोजेको देखिन्छ । बजारको थप सुधारका लागि मौद्रिक नीतिको समीक्षामा जोखिमभार घटाउनु पर्ने र क्याप हटाउनु पर्ने देखिन्छ, ’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ९.२५ प्रतिशतले बढेर ४ हजार २२९.१९ विन्दुमा पुग्यो ।
यस्तै आज विकास बैंक समूह १.०५ र जीवन बीमा समूह ०.४७ प्रतिशतले बढ्यो । आज हाईड्रो समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज १.५८ प्रतिशतले घट्यो । बैंकिङ समूह आज ०.८७ प्रतिशत,वित्त ०.९७,होटल ०.८०,लगानी ०.८७,उत्पादन तथा प्रशोधन ०.८६,लघुवित्त ०.६२,म्युचुअल फण्ड ०.११,निर्जीवन बीमा ०.५४ र अन्य समूह १.४१ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो बैंकको ३१ करोड ८ लाख बढीको कारोबार भयो । नेपाल फाइनान्सको पनि आज २९ करोड ७४ लाख,मितेरी डेभलपमेन्ट बैंकको २७ करोड ९४ लाख,जानकी फाइनान्सको २३ करोड १६ लाख र ङादी ग्रुप पावरको २० करोड ३३ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज विशाल बजार कम्पनी,विन नेपाल लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
पाँचथर पावरको सेयरमूल्य आज ८.३३ प्रतिशत र एलआईसी नेपालको ८.११ प्रतिशतले बढ्यो ।
मानुषी लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । अपर स्याङ्गे हाईड्रोको सेयरमूल्य आज ८.६० प्रतिशत,कर्णाली डेभलपमेन्ट बैंकको ६.८४ र सुपर मादी हाईड्रोको सेयरमूल्य ५.२७ प्रतिशतले घट्यो ।