काठमाण्डौ । पारामाउन्ट मोटर्स प्रालिको नेपालभर रहेका चार्जिङ स्टेशनहरुको सेवा अवरुद्ध हुने भएको छ । एमजी (मोरिस ग्यारेज) मोटर्सको नेपालको लागि एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालभर रहेका एमजीका ३० किलोवाटका चार्जिङ स्टेशनहरूमा फागुन ७ गतेदेखि मर्मत र सफ्टवेयर अपग्रेडका लागि सेवा अवरुद्ध रहने जानकारी गराएको हो ।
मर्मत, अपग्रेड र नयाँ सफ्टवेयर स्थापना गर्ने प्रक्रिया पूरा हुन १५ दिन लाग्ने कम्पनीले जनाएको छ । यस समयमा सबै ३० किलोवाट डिसि चार्जिङ स्टेशनहरू अस्थायी रूपमा उपलब्ध नहुने कम्पनीले जानकारी गराएको छ ।
पारामाउन्ट मोटर्सले यो १५ दिनको अवधिमा वैकल्पिक चार्जिङ्ग स्टेशनको प्रयोग गर्न अनुरोध गर्नुका साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असहजता एवम् असुविधाका लागि क्षमा व्यक्त गरेको छ ।
यो अन्तराल आगामी दिनमा सहज सेवाहरू प्रदान गर्नका लागि आवश्यक भएको र यसले ग्राहकहरूको एमजीसँगको अनुभवलाई अझ राम्रो बनाउने कम्पनीले दाबी गरेको छ ।