आईतवार, फाल्गुन ११,२०८१ 07:58:08
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 07:58:08
IME remit
Global IME Bank Limited

जानकी फाइनान्सको प्रगतिलाई बजारको साथ, मूल्य बढ्नुमा केको छ हात ?

सीइओ भन्छन्-'२०% भन्दा बढी बोनस दिने क्षमता बनाउँछौं, चुक्तापूँजी १ अर्ब पुर्याउँछौं'

Hyundai Nepal
जानकी फाइनान्सको प्रगतिलाई बजारको साथ, मूल्य बढ्नुमा केको छ हात ?
Nabil Bank Limited

काठमाण्डौ । तीन महिनाको अवधिमा दोश्रो बजार मूल्य सत्प्रतिशतभन्दा बढीले वृद्धि भई केही करेक्सन व्यहोरेको जानकी फाइनान्स नेप्से परिसूचक साइडवेजमा चलिरहँदा समेत अपर ट्रेण्ड समातेर कुदिरहेको छ । पहिला खेलाडीले चलाएको यो स्क्रिप्टमा पछिल्लो समय अन्य लगानीकर्ताले समेत ध्यान दिइरहेका पाइएको छ । बजारमा नेपाल फाइनान्ससँग तुलना गरेर जानकी फाइनान्सको मूल्य माथि उठ्न सक्ने भन्दै गुपचुप सेयर जम्मा गर्नेहरुको समेत कमी देखिन्न । कतिपयले भने फाइनान्स कम्पनीहरु कमजोर रहेका र यस्ता सेयरमा लगानी गर्नु जोखिमपूर्ण हुने पनि ठान्छन् । फलस्वरुप अन्य फाइनान्समा खासै आकर्षण बढ्न नसकिरहेको बेला जानकी फाइनान्सले भने आफ्ना मुख्य वित्तीय सूचकमै आमूल सुधार गरी कारण र आधारसहितको अपर ट्रेण्डको यात्रा समातेको देखिन्छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

जानकी फाइनान्सको सेयरमा लगानीकर्ता आकर्षित हुँदै जानु पछाडिको मुख्य कारण नै यसले गरिरहेको सुधारलाई लिन सकिन्छ । यो कम्पनीले पछिल्लो समय मुख्य वित्तीय सूचकहरुमा छलाङ मारिरहेको छ । समग्र वित्तीय क्षेत्रकै लागि टाउको दुखाईको विषय बनिरहेको खराब कर्जाको व्यवस्थापन, अनुपात सुधार र रिकभरिमा यो कम्पनीले उल्लेख्य प्रगति गरेको उसकै रिपोर्टले बताउँछ ।

हेरौं मुख्य सूचकको प्रगति

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससँग तुलना गरेर हेर्दा जानकी फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा निकै ठूलो छलाङ मारेको देखिन्छ । अघिल्लो वर्ष ४ लाख ३६ हजारमा सीमित यो कम्पनीको नाफा बढेर यो वर्ष ६ करोड ९० लाख पुगेको छ । यसरी हेर्दा नाफामा १५८ गुणाको फड्को मारेको देखिन्छ ।  

चुक्तापूँजी ६९ करोड रहेको कम्पनीले पहिलो त्रैमासमै ७ करोड हाराहारीमा नाफा कमाउनु उत्साहजनक नै हो । बाँकी त्रैमासमा पनि नाफाको यो रफ्तारलाई कम्पनीले कायमै राख्न सकेमा ‘नपत्याउँदो खोलाले बगाउँछ’ भनेजस्तो जानकी फाइनान्सले आफ्ना सेयरधनीलाई नसोंचेको रिटर्न दिनसक्छ ।

जानकी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार शर्माले बिजशालासँग कुरा गर्दै चालु आर्थिक वर्षको नाफाबाट कम्पनीले लगानीकर्तालाई कम्तीमा २० प्रतिशत लाभांश सहजै दिनसक्ने दबी गरे । 'हामीलाई अप्ठ्यारो पारेको भनेको पुँजीकोष अनुपातले मात्र हो, बाँकी सबै सूचकमा आमूल सुधार गरेका छौं ।' शर्माले भने-'चुक्तापूँजी पुगेको छैन, हामीले बोनस सेयरबाट नै १ अर्ब पुँजी पुर्याएर राष्ट्रिय स्तरमा बिस्तार हुने योजना बनाएका छौं ।'  

उनले मधेश प्रदेशमा ५ शाखामा मात्र सेवा सीमित भएका कारण राम्रो प्रगति गर्दागर्दै पनि जानकी फाइनान्स गुमनामजस्तो भएको दुखेसो पोखे । उनले भने-'काठमाण्डौले हामीलाई पनि माया गर्न पर्यो । अन्य फाइनान्सको तुलनामा हाम्रा धेरै सूचकमा आमूल सुधार भएको छ । तर मोफसलमा भएका कारण यसको चर्चा नै भएन ।'  

पहिलो त्रैमासमा कम्पनीको खराब कर्जा अनुपात ३४.६४ प्रतिशत रहेको छ । यो भनेको जोखिमपूर्ण अवस्था हो । तर, सीइओ शर्माको भनाईलाई आधार मान्ने हो भने व्यवस्थापनले पछिल्लो २ महिनाको अवधिमा रिकभरिमा मुख्य ध्यान लगाएका कारण खराब कर्जा घटाएर २२ प्रतिशत हाराहारीमा झारिसकेको छ । 'हाम्रो लोन असूलीमा ठूला वित्तीय संस्थालाई जस्तो कठीन छैन । हामीले एउटा पनि लोन गुड्विल  वा विजिनेश बेस्ड भएर दिएका छैनौं । धितो लिएका लोनहरुमा पनि अधिकांश मूल्याङ्कनको अधिकतम ५० प्रतिशत हाराहारीमा मात्र प्रवाह गरेका छौं । त्यसकारण हामीलाई अरुलाईजस्तो ठूलो चिन्ता छैन ।' शर्माले भने-'लोन सेटलमेन्टमा हाम्रो सबै शक्ति लगाएका छौं । सबै कुरा भनेजस्तो भइदियो भने यो आ.ब.को अन्त्यसम्म हामी चमात्कार गर्नेछौं, हेर्दै गर्नुहोला ।'  

आफूहरुले लोन दिँदा लिएका धितोहरु निकै बलिया रहेका र सोही कारण अहिले रिकभरिमा पनि राम्रो सुधार भइरहेको समेत उनले दोहोर्याए । 'उदाहरणका लागि १ करोडको मूल्यका कतिपय धितोमा त हामीले २५ लाख मात्र लोन दिएका छौं । बोर्डकै पनि बलियो धितो मात्र लिनू भन्ने निर्देशनले समेत हामीलाई केही सहज भएको जस्तो लाग्छ । बलियो  धितो हाम्रो सबैभन्दा पोजिटिभ पक्ष पनि हो।' उनले भने-'राम्रो धितो लिएकै कारण पहिला ठप्प जस्तो रहेको ऋण असूली तीव्र गतिमा भइरहेको छ । हामी उत्साहित छौं ।' 

कम्पनीको खूद नाफा बढेसँगै सेयर बजारका लगानीकर्ताले हेर्ने अर्को मुख्य सूचक वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) पनि ४० रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ६० पैसामा सीमित थियो । जानकी फाइनान्सको इपीएस फाइनान्सहरुमध्येकै मात्र नभई सम्भवतः वित्तीय संस्थाहरुमध्येकै बढी पनि हो ।  

कम्पनीले एकातिर खराब कर्जाको अनुपात घटाउन निकै जोडबल गरिरहेको देखिन्छ भने निक्षेप संकलनमा उत्साहजनक वृद्धि छ । रिजर्भको आकारमा उस्तै फड्को मारेको कम्पनीको कर्जा बिस्तार पनि सन्तोषजनक नै देखिन्छ ।

कम्पनीका सीइओको दाबीलाई आधार मान्ने हो भने जानकी फाइनान्सको खराब कर्जा अनुपात चालु आर्थिक वर्षको अन्त्यसम्म सिंगल डिजीटमा झरिसक्नेछ । त्यसो हुँदा अहिले प्रभिजनमा राख्नुपरेको नाफाको ठूलो रकम समेत फिर्ता भई लाभांश वितरणमा प्रयोग गर्न पाइन्छ। यस्तो भयो भने आगामी दिनमा जानकी फाइनान्सले नसोंचेको प्रगति गर्नसक्ने सम्भावना देखिन्छ ।  

मधेश प्रदेशमा रहेर वित्तीय सेवा दिने र यो क्षेत्रको सबैभन्दा ठूलो करदाताको सम्मान पाउँदै आएको जानकी फाइनान्सका सीईओ शर्माले हाल ६९ करोडको चुक्तापूँजीलाई ८० करोड पनि बोनस सेयरबाटै पुर्याउने दाबी समेत गरे ।  

इलिअटको पाँचौं वेभमा मूल्य १८०० सम्म पुग्नसक्छ !  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर  एकदिनदेखि एकसय बर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ए हो । वेभ ए, बी, सीले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।  

यो कम्पनीको सेयर मूल्यलाई हाल बनाएको चक्रको आधारमा यदि यसले पछिल्लो पल्टको उच्च बिन्दु १ हजार ७५ लाई भोलुमसहित बे्रक गरेर माथि जान्छ भने त्यो तेस्रो वेभको निरन्तरता लिन सक्छ । त्यो भनेको यो कम्पनीको मूल्य थर्ड वेभमा नै १३३४ सम्म पुग्न सक्छ । चौंथो वेभमा करेक्सन भएर १०७६ सम्म पनि आउन सक्छ । त्यस पछि पाँचौ वेभको बढोत्तरीमा यो कम्पनीको सेयर भाउ १ हजार ८ सय सम्म पनि पुग्न सक्छ । यसको लागि हाल ९३२ मा बन्द भएको यो कम्पनीको सेयर भाउले एक हजार ७५ को प्रतिरोधलाई भने ब्रेक गरेर माथ लाग्नै पर्छ ।  

बैकल्पिक रुपमा अर्को सम्भवना भनेको यदि एकहजार ७५ को प्रतिरोधलाई ब्रेक गर्न सक्दैन भने एबीसी करेक्सन भएर कम्पनीको सेयर भाउ ७७५ सम्म पनि आउनसक्छ ।  

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यस्ता बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।) 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.