काठमाण्डौ । जापानका तीन दिग्गज अटो निर्माता कम्पनी अन्ततःमर्ज हुने भएका छन् । विश्वप्रसिद्ध कम्पनीहरु होन्डा, निसान र मित्सुविसी कम्पनीले एक आपसमा गाभिने घोषणा गरेका हुन् ।
यी कम्पनीहरुले यससम्बन्धी सम्झौतामा हस्ताक्षर समेत गरेका छन् । यी कम्पनीहरु मिलेर एउटा विशाल अटो निर्माता कम्पनी बन्ने लक्ष्य लिएका छन् । यो कदमलाई ईभी सेग्मेन्टका टेस्ला र चिनियाँ कम्पनीहरु जस्तै बीवाईडी जस्ता प्रतिष्पर्धिसँग प्रतिष्पर्धा गर्ने योजनाका रुपमा लिइएको छ ।
कम्पनीले यो विलयको लक्ष्य ३० ट्रिलियन येनभन्दा बढीको सञ्चालन मुनाफा आर्जन गर्नु रहेको छ । यी तीनवटै कम्पनीले सन् २०२५ को जुनसम्म मर्जर प्रक्रियालाई अन्तिम रुप दिने बताएका छन् । मर्जरपश्चात बनेको होल्डिङ कम्पनीले सन् २०२६ बाट सञ्चालनमा आउने जनाइएको छ । होल्डिङ कम्पनीको सुरुवातसँगै होन्डा र निसान दुवै कम्पनीको सेयर सन् २०२६ अगस्टको अन्त्यसम्म डिलिस्टीङ हुने जनाइएको छ ।
होन्डा,निसान र मित्सुविसीले मिलेर प्रतिवर्ष ८० लाख युनिट कार उत्पादन गर्ने लक्ष्य राखेका छन् । यो ज्वाइन्ट भेन्चरले विश्वका अन्य कम्पनीलाई टक्कर दिने जनाइएको छ ।