काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आजदेखि संस्थाको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।
संस्थाले लाभांश घोषणासम्बन्धी जानकारी कारोबार समयमा प्रदान गरेका कारण पुस ८ गते संस्थाको सेयर कारोबार स्थगन गरिएको थियो ।
संस्थाको पुस ७ गते गते साँझ साढे ५ बजे बसेको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ को लाभांश घोषणा सम्बन्धी निर्णय गरेको थियो । तर सोको जानकारी नेप्सेमा अर्को दिन अर्थात पुस ८ गते साढे १२ बजे कारोबार समयमा नट्समार्फत गराएको थियो ।
संस्थाले नेप्सेबाट जारी गरिएका प्रचलित कानुनको परिपालना गर्ने प्रतिबद्धता सहित धितोपत्रको कारोवार फुकुवा गरिदिन आग्रह गर्दै पुस ८ गते नेप्सेलाई पत्र पठाएको थियो । नेप्सेले संस्थालाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै सूचीकरण स्थगन फुकुवा गरेको जनाएको छ ।