आईतवार, फाल्गुन ११,२०८१ 02:51:22
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:51:22
IME remit
Global IME Bank Limited

बीमा प्राधिकरणले बीमकको घरजग्गा कारोबारमा कडाई गर्ने, कम्पनीहरुको लगानीमा असर पर्ला ?

Hyundai Nepal
बीमा प्राधिकरणले बीमकको घरजग्गा कारोबारमा कडाई गर्ने, कम्पनीहरुको लगानीमा असर पर्ला ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको घरजग्गा कारोबारमा कडाई गर्ने भएको छ । प्राधिकरणले बीमा कम्पनीको स्थिर सम्पत्ति खरिद, निर्माण तथा बिक्री प्रक्रियालाई थप व्यवस्थित बनाउने भन्दै ‘बीमकको स्थिर सम्पत्ति निर्देशन, २०८१’ जारी गर्ने तयारी गरेको छ ।  

यसका लागि प्राधिकरणले जीवन, निर्जीवन, लघु तथा पुनर्बीमा कम्पनीहरुसँग राय÷सुझाव एकसाताभित्र उपलब्ध गराउन समेत भनेको छ । बीमकको स्थिर सम्पत्ति निर्देशन, २०८१ को मस्यौदामा विशेषतः बीमा कम्पनीको घरजग्गा कारोबारलाई जोडिएको छ ।  

पछिल्लो समय बीमा कम्पनीहरु लगानी विविधिकरणतर्फ उन्मुख हुँदै जाँदा प्राधिकरणले भने बीमकको घरजग्गा कारोबारलाई नै केन्द्रित गरी निर्देशन जारी गर्ने तयारी गरेको छ । बीमा कम्पनीहरुले अब घरजग्गा कारोबारमा कार्यालय, व्यवसायिक वा कार्यालय तथा व्यवसायिक प्रयोजन खुलाएर मात्रै स्वीकृति माग गर्नुपर्नेछ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

निर्देशिकामा बीमा कम्पनीहरुको घरजग्गा खरिद बिक्रीको कुरालाई जोडिएको छ । प्राधिकरणले विशेषगरी कार्यालय प्रयोजनका लागि बीमा कम्पनीहरुको घरजग्गा कारोबारमा पारदर्शीता कायम गर्न यो निर्देशिका तयार पारेको छ । साथै यस निर्देशिकामा कार्यालय प्रयोजनसँगै व्यवसायिक प्रयोजन पनि जोडिएकाले बीमा कम्पनीको घरजग्गा कारोबारको लगानीमा प्रभाव पार्ने देखिन्छ ।  

प्राधिकरणसमक्ष बीमा कम्पनीहरुले अब घरजग्गा कारोबारका लागि निवेदन पेश गर्दा प्राधिकरणले सैद्दान्तिक स्वीकृति र अन्तिम स्वीकृति प्रदान गर्नेछ । यसका लागि बीमा कम्पनीहरुले विभिन्न मापदण्डहरु पुरा गर्नुपर्नेछ ।  

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म घरजग्गा कारोबार क्षेत्रमा बीमा कम्पनीहरुको लगानी शुन्य छ । तर त्यसयता भने केही बीमा कम्पनीले यो क्षेत्रमा पनि लगानी गर्न प्राधिकरणसमक्ष अनुमति माग्न थालेका छन् । प्राधिकरणका अनुसार नेपाल लाइफ, नेको इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ, सिटिजन लाइफ र हिमालयन लाइफ कम्पनीले घरजग्गा कारोबारमा लगानी गर्न अनुमति मागेका छन् ।  

यसै सिलसिलामा प्राधिकरणले भने बीमा कम्पनीको स्थिर सम्पत्ति खरिद, निर्माण र बिक्री प्रक्रियालाई व्यवस्थित गर्ने उद्देश्यले बीमकको स्थिर सम्पत्ति सम्बन्धी निर्देशिका तयार पारेको छ । प्राधिकरणले बीमा कम्पनीलाई लगानी विविधिकरण गर्न निर्देशन दिदै आएपनि यो क्षेत्रमा बढी जोखिम हुने भएकाले लगानी व्यवस्थित बनाउने हेतुले निर्देशन जारी गर्न लागेको प्राधिकरणले जनाएको छ ।  

तर प्राधिकरणको स्थिर सम्पत्ति सम्बन्धी निर्देशिकामा बढी घरजग्गा कारोबारलाई नै केन्द्रित गरिएको हुँदा बीमा कम्पनीहरुको यो क्षेत्रमा लगानी सहज तरिकाबाट बढ्न नसक्ने देखिन्छ । यसै त यो क्षेत्रमा बढी जोखिम हुने बताउँदै आएका बीमा कम्पनीका सीईओहरु बीमा प्राधिकरणको कडाईले पछि हट्न सक्ने देखिन्छन् ।  

प्राधिकरणले भने बीमा कम्पनीहरुको स्थिर सम्पत्ति खरिद, निर्माण तथा बिक्री प्रक्रियालाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउने भन्दै यो निर्देशिका जारी गर्न लागेको छ । घरजग्गा जस्तो क्षेत्रमा कारोबार गर्दा बीमा कम्पनीको लगानी सुनिश्चित गराउन र जोखिम बढी हुने यो क्षेत्रलाई पारदर्शी बनाउन निर्देशिका जारी गर्न लागिएको प्राधिकरणले जनाएको छ ।  

घरजग्गा कारोबारमा लगानी गर्न प्राधिकरणसँग स्वीकृति लिइसकेको हिमालयन लाइफका सीइओ मनोज कुमार लाल कर्णले भने घरजग्गा जस्तो क्षेत्रमा कारोबार गर्दा कडाई नै हुुनुपर्ने बताउँछन् ।  

‘बीमा कम्पनीको घरजग्गा कारोबारमा रिस्क बढी हुन्छ, तर प्राधिकरणले जारी गर्न लागेको निर्देशिकाले बीमा कम्पनीको लगानीमा भने असर पार्दैन’ उनले भने, ‘बीमा कम्पनीहरुले जुनसुकै क्षेत्रमा लगानी गर्नुअघि प्राधिकरणको नियमभित्र बस्नुपर्छ, लगानीबाट प्रतिफल आउँछ कि आउँदैन यसमा बीमक आफैं अलर्ट हुन जरुरी छ ।’

घरजग्गा कारोबारमा लगानी गर्नुअघि बीमकले विभिन्न खालका मापदण्ड पुरा गर्नुपर्ने प्राधिकरणको नियम जायज भएको उनले बताए । ‘यो क्षेत्रमा जोखिम उत्तिकै हुन्छ, बीमा कम्पनीहरुले सहजै यो घरजग्गामा लगानी गर्न पाउने भए बीमा कम्पनीको लगानी डुब्न सक्ने सम्भावना रहन्छ’ उनले भने, ‘जस्तै कुनै कम्पनीले अलर्ट नभई जग्गा खरिद गर्दा बीमकको स्थिर सम्पत्तिको नै ह्रासकट्टी पनि हुन सक्छ ।’

त्यस्तै, घरजग्गा कार्यालय प्रयोजनका लागि प्राधिकरणसमक्ष अनुमति लिएको सानिमा रिलायन्स लाइफका सीईओ शिवनाथ पाण्डेले पनि बीमा कम्पनीहरुको घरजग्गा कारोबारमा लगानी बढोस् भन्ने हेतुले यो निर्देशिका ल्याउन लागेको बताए ।  

‘प्राधिकरणले बीमकको स्थिर सम्पत्ति सम्बन्धी निर्देशिका ल्याउने तयारी गरेको छ, जसमा विशेषगरी घरजग्गाको कुरालाई जोडिएको छ र यो घरजग्गा क्षेत्रमा बीमा कम्पनीको लगानी बढोस् भन्ने हेतुले ल्याउन लागिएको पनि हो’ उनले भने, ‘यसलाई राम्रो अभ्यास मान्नुपर्छ, प्राधिकरणले लगानी विविधिकरण गर्न जोड दिदै गर्दा यो क्षेत्रको लगानी पारदर्शी तथा व्यवस्थित बनाउन निर्देशन जरुरी छ ।’

बीमा कम्पनीहरुले बैंकको मुद्दतीमा निक्षेप राखेर पैसा कमाए अब घरजग्गा जस्तो क्षेत्रमा पनि विस्तारै लगानी बढाउनुपर्छ भन्ने उद्देश्यले यो निर्देशन तयार पार्न लागिएको पाण्डेको भनाई छ ।  

‘प्राधिकरणले सुरु देखि नै लगानी विविधिकरणमा जोड दिदै आएपनि बीमा कम्पनीहरु मुद्दती निक्षेपबाहेक अन्य सेक्टरमा लगानी गर्न डराएको अवस्था थियो’ उनले भने, ‘अन्य क्षेत्रमा रिस्क पनि उत्तिकै छ, बीमितहरुको रकम जोखिमयुक्त क्षेत्रमा लगानी गरेर त्यसबाट आम्दानी नभए बीमितलाई नै उत्कृष्ट बोनस दिन सक्दैनौं त्यसकारण लगानी गर्नुअघि बीमकले विचार पुर्याउन पनि आवश्यक छ ।

घरजग्गा कारोबारसम्बन्धी के छ निर्देशिकामा ?  

बीमा कम्पनीले घरजग्गा खरिद, निर्माण गनुपूर्व बीमा प्राधिकरणबाट सैद्दान्तिक तथा अन्तिम स्वीकृति लिनुपर्नेछ । साथै घर निर्माण गर्दा कुल सीमाभित्र रहनेगरी घर निर्माण गर्दा बीमकको चुक्तापुँजी, अग्राधिकार सेयर, सेयर प्रिमियम, रिटेन्ड अर्निङ, विशेष कोष, क्यापिटल कोष, बीमा कोष र महाविपत्ती कोष बमोजिम गणना गरिएको नेटवर्थको दुई प्रतिशतभन्दा कम निर्माण लागत हुन गएमा भने प्राधिकरणको स्वीकृति लिनु नपर्ने प्राधिकरणले जनाएको छ ।  

साथै बीमा कम्पनीले कार्यालय प्रयोजन, व्यवसाय प्रयोजन र कार्यालय तथा व्यवसायिक प्रयोजन के का लागि घरजग्गा खरिद गर्न लागेको हो सो को प्रयोजन खुलाँई निवदेन पेश गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।  

कार्यालय तथा व्यवसायिक प्रयोजन दुबैका लागि घरजग्गा खरिद निर्माण स्वीकृति माग भएमा कार्यालय प्रयोजनको लागि प्रयोग हुने हिस्साको लागत र प्रतिशत तथा व्यवसायिक प्रयोजनको लागि प्रयोग हुने हिस्साको लागत र प्रतिशत खुलाई प्राधिकरण समक्ष निवेदन पेश गर्नुपर्नेछ ।  

तर बीमकको घरजग्गा खरिद, निर्माण व्यवसायिक प्रयोजनको लागि मात्र भए बीमकको लगानी निर्देशन बमोजिम स्वीकृति प्रदान गरिनेछ ।  

घरजग्गा खरिद, निर्माण गर्न प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको मितिले चार महिनाभित्रमा खरिद, निर्माण प्रक्रिया अघि बढेको प्रमाण पेश नभएमा दिइएको स्वीकृति स्वतः रद्द हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले बीमा कम्पनीलाई घरजग्गा कारोबारका लागि सैद्दान्तिक र अन्तिम स्वीकृति प्रदान गर्नेछ । जसमा अन्तिम स्वीकृतिको लागि प्राप्त निवेदन र सो साथ संलग्न कागजातको जाँचबुझ गर्दा स्वीकृति दिन उपयुक्त हुने देखिएमा कुनै शर्त तोकि वा नतोकी अन्तिम स्वीकृति दिन सक्नेछ ।  

घरजग्गा खरिद गर्न प्राधिकरणबाट अन्तिम स्वीकृति प्राप्त भएको मितिले २ महिनाभित्रमा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको प्रमाण पेश नभएमा दिइएको स्वीकृति रद्ध हुनेछ ।  

साथै घर निर्माणको हकमा प्राधिकरणबाट अन्तिम स्वीकृति प्राप्त भएको मितिले दुई महिनाभित्र निर्माण कार्य सुरु गरिसक्नुपर्ने प्राधिकरणले जनाएको छ ।  

बीमकको घरजग्गा खरिदसम्बन्धि मापदण्ड अन्तर्गत बीमा प्राधिकरणले तोकेको सीमाभित्र रहेर खरिद गर्नुपर्नेछ । बीमकले कार्यालय प्रयोजनका लागि स्थिर सम्पत्ति खरिद/निर्माण गर्दा बीमा कम्पनीले हालसम्म खरिद गरेको स्थिर सम्पत्तिको ह्रासकट्टी पछिको हुन आउने मूल्य र खरिद गर्न स्वीकृति माग गरेको स्थिर सम्पत्तिको लागतको योगफल निर्देशिकामा उल्लेख भएबमोजिम गणना गरिएको नेटवर्थको ३० प्रतिशत सीमाभित्र रहनुपनेृछ ।  

नेटवर्थ गणना गर्दा पछिल्लो लेखापरीक्षण गरिएको वित्तीय विवरणको आधारमा गर्नुपर्नेछ र स्थिर सम्पत्तिको ह्रासकट्टी पछिको हुन आउने मूल्य गणना गर्दा कुनै पनि स्थिर सम्पत्तिको पुनर्मूल्यांकन गरिएको भएमा रिभ्यालुएसन सरप्लस बराबरको रकम स्थिर सम्पत्तिको खुद मूल्यबाट हटाउनुपर्नेछ ।  

साथै घरजग्गा बिक्री सम्बन्धमा बीमा कम्पनीले आफ्नो स्वामित्वमा रहेको वा स्व–प्रयोजनमा प्रयोग भएको घरजग्गा बिक्री गर्दा बिक्री मूल्य यस निर्देशिका बमोजिम गणना गरिएको नेटवर्थको १० प्रतिशत वा सो भन्दा बढी हुन गएमा सो सम्बन्धी कागजातहरु संलग्न गरी प्राधिकरण समक्ष स्वीकृतिका लागि निवेदन पेश गर्नुपर्नेछ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.