काठमाण्डौ । नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले आफ्नो १५ औं वार्षिकोत्सव मनाएको छ। सन् २०१० नोभेम्बर ११ मा सुरु भएको फुडमाण्डु आज लाखौं ग्राहक र हजारौं रेष्टुरेन्टलाई जोड्ने राष्ट्रिय ब्रान्डमा परिणत भएको छ।
गत १५ वर्षको अवधिमा फुडमाण्डुले उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ— प्रमुख सहरहरूमा हजारौं रेष्टुरेन्टहरूसँग सहकार्य, सयौं डेलिभरी राइडरहरूलाई रोजगारी, र करोडौं ग्राहकहरूलाई सहज सेवा प्रदान। यसले नेपालमा घरमै मनपर्ने खाना खान सक्ने संस्कृतिको नयाँ युग सुरु गरेको छ र रेष्टुरेन्टहरूलाई डिजिटल रूपमा आफ्नो बजार विस्तार गर्न सहयोग पुर्याएको छ।
फुडमाण्डुका संस्थापक मनोहर अधिकारीले भने, “१५ वर्षअघि हामीले एउटा साधारण विचारबाट सुरु गरेका थियौं—घरमै बसेर मनपर्ने खाना खान सकियोस्। आज हामी जहाँ आइपुगेका छौं, त्यसमा गर्व महसुस हुन्छ। फुडमाण्डुले केवल ग्राहकहरूको जीवन सजिलो बनाएको छैन, यसले रेष्टुरेन्टहरूलाई पनि नयाँ ग्राहकसम्म पुग्ने अवसर दिएको छ। यो उपलब्धि हाम्रो पार्टनर रेष्टुरेन्टहरू, समर्पित राइडरहरू र हाम्रा विश्वस्त ग्राहकहरू सबैको हो।”
ग्राहक अनुभव अझ सहज बनाउन फुडमाण्डुले निरन्तर सुधार गर्दै आएको छ—थप रेष्टुरेन्टहरू, भरपर्दो सेवा, सहज अर्डर प्रक्रिया, नयाँ फिचरहरू र नेपालीदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका बिभिन्न व्यञ्जनहरूको विकल्पसहित।
फुडमाण्डुकी ब्रान्ड तथा मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन्, “यी १५ वर्ष हाम्रो लागि अद्भुत यात्राका वर्ष हुन्। हामी ‘एकपटकमा एक खुशीको डेलिभरी’ गर्ने हाम्रो मिशनप्रति सधैं प्रतिबद्ध रह्यौं। पहिलो दिनको जस्तै उत्साहका साथ हामी अझ धेरै नेपालीलाई सेवा दिन तत्पर छौं।”
१५औं वार्षिकोत्सवको अवसरमा फुडमाण्डुले विशेष अफर ल्याएको छ—काठमाडौँ, पोखरा, चितवन र बुटवलका २०० भन्दा बढी रेष्टुरेन्टहरूमा भारतीय, अमेरिकी, मेक्सिकन, कोरियन लगायत विभिन्न परिकारहरूमा विशेष छुट दिइनेछ। यो अफर नोभेम्बर ११ देखि नोभेम्बर ३० सम्म लागू हुनेछ।
फुडमाण्डु अहिले काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखरामा १,००० भन्दा बढी रेष्टुरेन्टमार्फत खाना डेलिभरी गर्दै आएको छ। साथै, कम्पनीले ‘फुडमाण्डु वनमार्ट’मार्फत दैनिक उपभोगका सामानहरूको तुरुन्त डेलिभरी सेवा पनि उपलब्ध गराउँदै आएको छ।

