काठमाण्डौ । सेयर बजार माग र आपूर्तिले चल्ने ठाँउ हो । सेयरको माग बढ्दा मूल्य बढ्ने गर्छ भने माग घट्दा मूल्य घट्ने गर्छ । यही सिद्धान्तलाई सेयर लगानीकर्ताहरुको लागि मार्केट डेप्थबाट हेर्ने गर्छन ।
जुन पछिल्लोपटक झनै प्रतिउत्पादक बन्दै गरेको देखिएको छ । कुनै समय एओएनको (अल अर नन) दूरुपयोग गरेर सेयर बजारमा तीव्र चलखेल गर्ने गरिन्थ्यो । धितोपत्र बोर्डले चलखेलको आशंका गरेर हाल खरिद तथा बिक्री दुवै साइडमा एओएन हटाएको छ । तर बजारका खेलाडीले भने चलखेल गर्ने नयाँ–नयाँ जुक्ति लगाउन भने छोडेका छैनन् ।
यस्तै घटना आज घटेको छ । आजको कारोबारमा लो क्याप भएको एउटा कम्पनीको एकै अडरमा ५ लाखसम्म कित्ता खरिद देखाएको छ । यसै विषयलाई लिएर फेसबुकमार्फत एउटा कम्पनीको स्क्रिन सर्ट सार्वजनिक गर्दै ग्लोबल आइएमइ क्यापिटलका पूर्व सीईओ पारसमणी ढकाल लेख्छन् ‘सेबोनले यस बारेमा बुझ्न पाउँला कि नपाउँला ? मेरो बिचारमा यस सम्बन्धमा सेबोनले तथ्य पत्ता लगाउने प्रयोजनका लागी जानकारी लिन मौखिक वा लिखित संचार लगायतका कार्य गरेको कारणले नेप्से जति घटे नै पनि स्वागत छ । नियमनकारी निकायले यथार्थ त थाहा पाउनुपर्ला नि । ’
यसै बिषयमा बोल्दै धितोपत्र बोर्डका प्रवक्ता निरञ्जन घिमिरे भन्छन् ‘धितोपत्र बोर्डले पूँजी बजारमा भएका अनियमितता अनुगमन गरेको हुन्छ । कनै गलत क्रियाकलाप देखिएको खण्डमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने छ।’
बजारबाट कसरी निस्कन्छन खेलाडी ?
अहिले धेरै लगानीकर्ताहरुले फ्लोरसिट् र ब्रोकर होल्डिङ नियालेर कुन ब्रोकरबाट कुन खेलाडिले सेयर किनेको छ वा बेचेको छ भन्ने नियालेका हुन्छन् । तर बजारका खेलाडीले सर्वसाधारणले चाल नपाओस भनेर बिओटु बिओ मार्फत किनेको ब्रोकर परिवर्तन गरि अर्कै ब्रोकरबाट सेयर बेचेर टाप कसिसकेको हुन्छ । बीओटु बिओ भनेको सिडिएसीले लगानीकर्तालाई एक डिम्याटबाट अर्को डिम्याटमा सेयर हस्तान्त्रण गर्न दिएको सुविधा हो ।
यसरी गर्न सकिन्छ बिओटु बिओ
सबैभन्दा पहिले आफ्नो डीपी भएको ठाउँमा जाने र ‘बीओ टु बीओ’ फाराम भर्ने। डीपीले सम्बन्धित व्यक्ति प्रमाणीकरण गरेपछि सोही दिन नेपाल क्लियरिङ हाउसमा गएर रु. १०० को भौचर भर्नुपर्छ। उक्त भौचर र आफूले भरेको ‘बीओ टु बीओ’ फाराम सीडीएससीमा बुझाएपछि एकैदिनमा सेयर स्थानान्तरण हुन्छ। यसका लागि आधिकारिक व्यक्ति स्वयं उपस्थित हुनुपर्ने प्रावधान रहेको छ।