काठमाण्डौ । विकास बैंकहरुको मुनाफा १६.०८ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विकास बैंकहरुले २ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १६ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म विकास बैंकहरुले समग्रमा २ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएका थिए ।
समिक्षा अवधिसम्म आइपुग्दा तीन विकास बैंक घाटामा देखिएका छन् भने बाँकी बैंकहरु नाफामा उक्लिएका छन् । घाटा ब्यहोर्ने बैंकहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् ।
गत आवको सोही अवधिसम्म भने नारायाणी र एक्सेल डेभलपमेन्ट बैंकमात्रै घाटामा थिए । गत आवमा ३३ हजार नाफा कमाएको सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आवको दोस्रो त्रैमाससम्म ५ करोड ७८ लाख रुपैयाँ घाटा ब्यहोर्न पुगेको छ ।
नाफामा उक्लिएका केही विकास बैंकहरुको मुनाफा गत आवको तुलनामा उल्लेख्य बढ्न पुग्दा समग्रमा विकास बैंकहरुको नाफा बृद्धि देखिएको हो । तर अधिकांश विकास बैंकहरुको खराब कर्जा अनुपात भने चुलिँदै गएको छ ।
मितेरी डेभलपमेन्ट र सप्तकोशी डेभलपमेन्ट बैंकको खराब कर्जा घट्दा अन्य बैंकहरुको यस्तो कर्जा बढेको तथ्याङ्कले देखाएको छ । तर खराब कर्जा घटेका बैंकहरुको नाफामा भने प्रगति देखिएको छैन । सप्तकोशीले ५ करोड ७८ लाख रुपैयाँ घाटा ब्यहोरेको छ भने मितेरीको नाफा गत आवको तुलनामा ४७।०७ प्रतिशतले घटेको छ ।
कुनले कति नाफा कमाए ?
विकास बैंकहरुमध्ये सर्वाधिक नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ । बैंकले सो अवधिसम्म ५५ करोड ५८ लाख रुपैयाँ नाफा कमाएर सर्वाधिक मुनाफा कमाउने विकास बैंक बन्न सफल भएको छ ।
त्यस्तै, मुक्तिनाथ विकास बैंक दोस्रो स्थानमा छ । बैंकले ५० करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ भने तेस्रो बढी नाफा कमाउनेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । शाइन रेसुङ्गाले ३३ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
यसका साथै महालक्ष्मी विकास बैंकले २८ करोड ७४ लाख, कामना सेवा विकास बैंकले ३२ करोड २४ लाख, ३२ करोड २४ लाख, लुम्बिनी विकास बैंकले १४ करोड ७६ लाख, ज्योतिले २५ करोड १ लाख, मितेरीले २ करोड ५८ लाख, कर्पोरेट डभलपमेन्टले १ करोड ७ लाख रुपैयाँ र ग्रीन डेभलपमेन्ट बैंकले ८७ लाख रुपैयाँ नाफा कमाएको छ ।
यत सप्तकोशी डेभलपमेन्ट बैंकले भने ५ करोड ७८ लाख रुपैयाँ, एक्सेल डेभलपमेन्ट बैंकले ९ करोड ५ लाख रुपैयाँ र नारायाणी डेभलपमेन्ट बैंकले ५२ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।
गत आवको तुलनामा सर्वाधिक नाफा बढाउने बैंकमा ज्योति विकास बैंक रहेको छ । गत आवको दोस्रो त्रैमाससम्म १० करोड १० लाख रुपैयाँ मात्रै नाफा कमाएको यस बैंकले यस अवधिसम्म १४७.५७ प्रतिशत बढाएर २५ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ ।
इपीएस कुनको कति ?
करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ ।
यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । चालु आवको दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै इपीएस गरिमा विकास बैंककै रहेको छ । बैंकको इपीएस १८.०५ रुपैयाँ छ ।
त्यस्तै, कामना सेवाको १५.७८ रुपैयाँ, सिन्धु विकासको १७.४७ रुपैयाँ, मुक्तिनाथको १४.२८ रुपैयाँ, महालक्ष्मीको १३.७८ रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ११।४६ रुपैयाँ, ज्योतिको ११.३८ रुपैयाँ, लुम्बिनीको ८.१५ रुपैयाँ, मितेरीको ४.२५ रुपैयाँ, ग्रीन डेभलपमेन्टको ३.२४ रुपैयाँ र कर्पोरेट डेभलपमेन्टको २.०५ रुपैयाँ छ ।
यता एक्सेल डेभलपमेन्टको इपीएस भने १४.४९ रुपैयाँ ऋणात्मक अवस्थामा छ । त्यस्तै, सप्तकोशीको ७.१७ रुपैयाँ र नारायाणी डेभलपमेन्ट बैंकको १.९९ रुपैयाँ ऋणात्मक अवस्थामा छ ।
गत आवको तुलनामा सबैभन्दाा धेरै इपीएस बढ्नेमा भने सिन्धु विकास बैंक रहेको छ । बैंकको इपीएस ८.४५ रुपैयाँले बृद्धि भएको छ ।
विकास बैंकहरुको खराब कर्जा चुलिँदै
विकास बैंकहरुको खराब कर्जा चुलिँदै गएको देखिएको छ । बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक रिर्पोटअनुसार अधिकांश विकास बैंकहरुको खराब कर्जा अनुपात बृद्धि देखिएको छ ।
नेपालको अर्थतन्त्रमा देखिएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढ्न पुगेको राष्ट्र बैंकले जनाएको छ ।
चालु आवको दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै खराब कर्जा अनुपात (एनपीएल) नारायाणी डेभलपमेन्ट बैंकको रहेको छ । बैंकको एनपीएल ४३.६९ प्रतिशत रहेको छ । यो एनपीएल राष्ट्र बैंकको सीमा भन्दा अत्यधिक धेरै हो ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको एनपीएल ५ प्रतिशत भन्दा बढी भएमा सो संस्थामा खरा कर्जा बढ्दै गएको र वित्तीय अवस्था नै कमजोर भएको बुझ्न सकिन्छ । तर विकास बैंकहरुमा अधिकांशको एनपीएल ५ प्रतिशतको हाराहारीमा वा सो भन्दा बढी देखिन्छ ।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको एनपीएल ११.४२ प्रतिशत, सिन्धु विकासको ९.०६ प्रतिशत, एक्सेल डेभलपमेन्टको ८.५६ प्रतिशत, सांग्रिलाको ४.९९ प्रतिशत, ज्योतिको ४.९८ प्रतिशत, महालक्ष्मीको ४.९३ प्रतिशत, ग्रीन डेभलपमेन्टको ४।८८ प्रतिशत, गरिमाको ४.७२ प्रतिशत, लुम्बिनीको ४.६८ प्रतिशत, शाइन रेसुङ्गाको ४.४० प्रतिशत, कामनाको ४.३५ प्रतिशत, मुक्तिनाथको ३.९८ प्रतिशत र मितेरीको १.७४ प्रतिशत रहेको छ ।