काठमाण्डौ । भारत सरकारले सस्तो सुन बिक्री गर्ने स्किम बन्द गर्ने भएको छ । सुनको मूल्य आकाशिएसँगै भारत सरकारले ‘सोभरेन गोल्ड बोन्ड स्किम’ अर्थात एसजीबी स्किम बन्द गर्न लागेको हो ।
यसको संकेत भारतकी वित्तमन्त्री निर्मला सीतारमणले दिएकी छन् । सीतारमणलाई यसबारे गरिएको प्रश्नमा उनले यस विषयमा कुरा भईरहेको बताइन् । हालै सार्वजनिक भएको भारतको बजेटमा भने यस विषयमा कुनैपनि घोषणा भएको थिएन ।
एसजीबी स्किम बन्द गर्ने तयारीलाई त्यहाँको आर्थिक मामिला विभागका सचिव अजय सेठले पुष्ठि गर्दै गोल्ड बोन्ड स्किम सरकारका लागि धेरैनै महङ्गो साबित भईरहेको र सरकारले अब नयाँ किस्ता जारी नराख्ने निर्णय गरेको बताए ।
यो स्क्मिको सुरुवात सन् २०१५ को नोभेम्बरमा भएको थियो । यो योजनामार्फत सरकारले मानिसहरुलाई बजारको भन्दा कम मूल्यमा सुनमा लगानी गर्ने विकल्प दिने गर्दथ्यो । यसका साथै अनलाइन खरिदमा भारु ५० प्रतिग्रामको छुट पनि दिइन्थ्यो ।
यस्तै २.५ प्रतिशतको निश्चित ब्याज पनि दिइन्थ्यो । यो योजनााका मार्फत परिवारका प्रत्येक सदस्यले अधिकतम ४ किलो सुन खरिद गर्न सक्छन् । सोभरेन गोल्ड बोन्डको म्याच्युरिटी अवधि ८ वर्षको हुन्छ ।