-चन्द्रसिंह साउद
सेयर बजार विश्लेषक तथा पूर्व सीईओ-(नेपाल स्टक एक्सचेञ्ज)
अब सेयर बजारले राम्रो गति लिन लागेको हो ?
-बजार ह्वात्तै माथि गएर तल आउनुको साटो सामान्य घटबढ हुँदै अगाडि बढ्छ । अब फण्डामेण्टल राम्रा कम्पनीहरुमा बिस्तारै आकर्षण बढ्न थाल्ने देखिन्छ । अबको बजार स्मूथ्ली सकारात्मक मोडमा जाने तरखर गरिरहेको देख्छु ।
तर सबै मिलेर केही कामहरु गर्नुपर्ने हुन्छ । बजारमा फण्डासण्डा बनाउने मान्छेहरुलाई अलिकति चेक एण्ड ब्यालेन्स गर्नुपर्ने हुन्छ । मिडियामा आउने कुराहरु पनि कसरी आउँछन्, फिडब्याकसहित आउँछन् कि आउँदैनन् थाहा छैन, त्यो पनि अलिकति कम गर्न आवश्यक छ । किनभने बजार सबैका लागि हो, राम्रो भयो भने सबैलाई हुने हो । कसैले नियन्त्रण वा नियमन गर्नेभन्दा पनि सेल्फ डिसीप्लिनमा बसेर, सेल्फ कर्पोरेट गभरनेन्स गरेर काम गर्ने हो भने बजारले राम्रै लय लिने छाँटकाँट देखिएको छ ।
भनेपछि अब चाहिँ वाणिज्य बैंक, बीमा कम्पनी लगायत फण्डामेन्टल राम्रा कम्पनीका दिन आउन लागेका हुन् भनेर लगानीकर्ताले बुझ्दा हुन्छ ?
-कमर्सियल बैंकको कमाई खासै राम्रो देखिन्न, एनपीएल धेरै माथि भयो । लगानी गर्ने क्रममा मान्छेले रिटर्न खोज्छ । रिटर्न लिनका लागि सेयरमूल्य बढी भए पनि वाणिज्य बैंकको तुलनामा बीमा कम्पनीहरुमा अलिक बढी आकर्षण देखियो । वाणिज्य बैंकको तेश्रो त्रैमासको रिपोर्ट के आउँछ, तिनको विषयमा त्यसपछि मात्रै भन्न सकिएला । वाणिज्य बैंकहरु तुरुन्तै माथि जाने अवस्था चाहिँ देखिन्न । दोश्रो त्रैमासको रिपोर्टमा एकदुईवटा बाहेक बाँकी बैंकको रिपोर्ट उति सन्तोषजनक देखिएको छैन । एकदमै लङटर्मका लागि लगानी गर्न चाहनेलाई चाहिँ फेरि वाणिज्य बैंक नै साह्रै राम्रो हुन्छ ।
सामान्य लगानीकर्ताले अहिलेको अवस्थामा लगानी गर्नुपर्दा सुरक्षित लगानी कसरी गर्ने ? कुन सेक्टरका सेयर छान्ने ?
-अहिलेको अवस्थामा कुनै दुई–तीनवटा वाणिज्य बैंकलाई छान्ने, २–३ वटा जति जीवन बीमा कम्पनी, अरु २–३ वटा जति निर्जीवन बीमा कम्पनी छान्ने । पाँचवटा हाइड्रोपावर कम्पनी लिने, अन्य समूहका कम्पनीमा पनि फोकस गर्ने । अहिले सबैभन्दा राम्रो रिटर्न हाइड्रोपावरको देखिन्छ, त्यसकारण यो समूहका राम्रो इपीएस भएका केही कम्पनी पनि छानेर लगानी गर्न सकिन्छ । यस्ता कम्पनीमा अहिले लगानी गरेर छाडिरहँदा केही समस्या हुँदैन, लङटर्ममा लगानीकर्ताले जित्छ ।
(अन्तर्वार्ता सुन्न र हेर्न बिजशालाको आधिकारिक यूट्यूब च्यानलको लिंकमा जानुहोला ।)