काठमाण्डौ । बिट्क्वाइनको मूल्यमा शुक्रबार उच्च गिरावट आएको छ । आज बिट्क्वाइनको मूल्य ५.५ प्रतिशतले घट्दै ७८ हजार ७८२ डलरमा झरेको छ ।
यससँगै बिट्क्वाइनको मूल्य तीन महिनाभन्दा बढी समयमा पहिलोपटक ८० हजार डलरभन्दा तल झरेको छ ।
यससँगै बिट्क्वाइनको मूल्य गत डिसेम्बर महिनामा पुगेको हालसम्मकै उच्चबाट २५ प्रतिशतले घटिसकेको छ । गत नोभेम्बर महिनामा अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमन भएसँगै बिट्क्वाइनको मूल्यमा उछाल आएको थियो ।
त्यसबेला बिट्क्वाइनको मूल्य १ लाख १० हजार डलर पुगेको थियो । चुनावी अभियानका क्रममा ट्रम्पले आफूलाई क्रिप्टो समर्थक र यसको सुधारकका रुपमा प्रस्तुत गरेका थिए ।
तर विश्व सेयर बजार कमजोर बनेसँगै र ट्रम्पको ट्यारिफको घोषणाले विश्वबजारमा अनिश्चितता निम्तने खतराका कारण लगानीकर्ता आत्तिदा बिट्क्वाइनको मूल्य घट्न पुग्यो ।
यस्तै मुख्य क्रिप्टोकरेन्सी एक्सचेञ्ज,बाईबिटको १.५ बिलियन डलरबराबरको क्रिप्टो चोरी भएको घटनाले समेत लगानीकर्ताको मनोबल खस्किएको छ ।
यस्तै शुक्रबार विश्व सेयर बजार पछिल्लो ४ साताकै न्यून विन्दुमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा,मेक्सिको र चीनमाथि थप भन्सार शुल्क लगाउने घोषणा गरेसँगै विश्व व्यापार युद्धको सम्भावना बलियो बनेको छ । जसका कारण लगानीकर्ताको सेन्टिमेन्ट कमजोर बन्दा त्यसको प्रभाव विश्व सेयर बजारमा परेको हो ।
आज विश्वका प्राविधिक कम्पनीहरुको सेयरमूल्यमा तीव्र गिरावट आएको छ । विश्व सेयर बजारमा आज २ प्रतिशतको गिरावट आएको छ । एनभिडियाको सेयरमा आज उच्च बिक्री दबाव परेको रोयटर्सले जनाएको छ ।
यो दिन युरोपेली स्टकएक्स६०० इनडेक्स ०.६ प्रतिशतले घटेको छ । बिहिबार पनि यो इन्डेक्स ०.५ प्रतिशतले घटेको थियो । टेक्नोलोजि सब–इन्डेक्स १.४ प्रतिशतले ओरालो लागेको छ ।